काठमाडौं – अपहरण मुद्दा खेपिरहेका नेपाल सद्भावना पार्टी आनन्ददेवीका अध्यक्ष एवं पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
साता लामो थुनछेकको बहसपछि शुक्रबार गुप्तालाई धरौटीमा छाड्न नमिल्ने आदेश न्यायाधीश विष्णुप्रसाद कोइरालाको इजलाशले दिएको हो । गुप्तासँगै अन्य ५ अभियुक्तलाई पनि थुनामा पठाउने आदेश भएको छ ।
मुद्दामा संलग्न महिला आरजु सुब्बालाई भने २ लाख धरौटीमा छाडिएको छ । गुप्तालाई व्यापारी पवन संघाइको अपहरण गरेको अभियोगमा १७ वर्ष कैद हुनु पर्ने माग सरकारको छ । तीन वर्षभन्दा बढी जेल सजाए हुने मुद्दाको पुर्पक्ष अभियुक्तलाई थुनामै राखेर गर्ने कानूनी व्यवस्था छ । गुप्ता अब मुद्दाको फैसला नहुन्जेल जेलमै बस्नुपर्नेछ । फैसलापछि उनी दोषी देखिए भने उनको जेल यात्राले निरन्तरता पाउनेछ । कान्तिपुर



