काठमाडौं – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय अखण्डताविरुद्ध बोल्ने मन्त्रीलाई सरकारले कारबाही गर्नुपर्ने बताएका छन्। उनले राष्ट्रिय अखण्डताविपरीत अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्री बाबुराम भट्टराईले छुट दिएको प्रति आपत्तिसमेत जनाए।
मिडिया इन्टरनेसनलद्वारा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले वर्तमान सरकारले त्यस्ता मन्त्रीलाई कारबाही नगरेर इतिहासकै कमजोर साबित भएको बताए।
उनले वर्तमान सरकार भ्रष्टाचारीलाई कारबाहीको साटो ढाकछोप गर्दै गइरहेकाले यो सरकारबाट शान्ति र संविधान पूरा हुन्छ भन्ने आधार समाप्त भएकोसमेत बताए।
अध्यक्ष यादवले संविधान सभाको निर्वाचनबाट ठूलो पार्टी भएको एकीकृत माओवादीले जनतालाई घात गर्नेहरुलाई साथ लिएर सरकारमा जानकै लागि गरेको गठबन्धन अवसरवादी भएको आरोपसमेत लगाए।
उनले भने, ‘मुलुकमा स्थायी शान्ति कायम गर्न र संविधान लेखनको कार्य टुङ्ग्याउनका लागि वर्तमान प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माण गरिनुपर्छ।’
‘राज्यले जनतालाई विभेद गरिरहेको छ, कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने’ भन्दै उनले सिङ्गो मधेस राष्ट्रिय अखण्डताको पक्षमा रहेको उल्लेख गरे। उनले राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिनेलाई न्यायपालिकाले सजाय दिनेमा आफू आशावादी रहेको बताए। रासस



