एमालेले आह्‌वान गरेको राजमार्ग वन्दका कारण सिरहाको जनजीवन प्रभावित

भरत जर्घामगर

 

लहान – एमालेले सिरहाले आह्‌वान गरेको राजमार्ग वन्दका कारण शनिवार सिरहाको जनजीवन प्रभावित बन्यो । वन्दका कारण राजमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन चलेनन् ।


वन्दकर्ताले एम्वुलेन्स र प्रेसका सवारी साधनलाई अवरोध गरेका छैनन् । एमाले सिरहाले शनिवार र आइतवार राजमार्ग वन्द गर्ने जनायो । एमाले सिरहाले माघ ९ गते जिल्ला प्रशासन घेराउका क्रममा प्रहरी लाठि चार्जबाट माघ २३ गते मृत्यु भएका रामस्वरुप पासवानलाई सहिद घोषणा गर्नुपर्ने, लक्ष्मीनियाको हत्या र बेल्हाको डाका काण्डका दोषीहरु उपर कडा कारबाहीको माग गदै तेस्रो चरणको संघर्षका कार्यक्रम अन्तर्गत सरकारी कार्यालय वन्द गरेको हो ।


एमालेले लक्ष्मीनियाको हत्या र वेल्हाको डाका काण्डका दोषीहरु उपर कडा कारवाहीका लागि उच्च स्तरीय न्यायिक आयोग गठन, बेल्हा डाका काण्डका मृतक परिवारलाई राहत स्वरुप १० लाख क्षतिपूर्ति, सिरहाका विभिन्न स्थानका अपहरण घटनाका दोषीलाई कारवाही लगायत आठ सुत्रिय माग अघि सार्दै जिल्लामा तेस्रो चरणको आन्दोलन गरिरहेको छ ।


एमाले सिरहाले जिल्लाभित्र भएका विभिन्न अपहरणका घटनाहरुमा सिरहाका प्रहरी प्रशासनका प्रमुखहरु नै संलग्न भएको आरोप लगाउदै प्रसासन र प्रहरी प्रमुखको चर्को विरोध गर्दै आएको छ ।


जिल्लाको विभिन्न भागमा भएको हत्या, अपहरण, डकैती, फिरौतीका घटनाका सम्वन्धमा सर्वदलिय बैठक मार्फत प्रहरी र प्रशासन समक्ष पटक पटक ध्यानाकर्षण गराएपनि चासो नदेखाएको एमालेको ठहर छ । एमाले सिरहाले पुस ३० गतेबाट नै मसाल जुलुस, चक्काजाम तथा जिल्ला वन्दको कार्यक्रम गरेको थियो ।