
विहीबार बसेको मन्त्रीपरिषद्को बैठकले माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआरलाई आवश्यक पर्ने वन क्षेत्र दिने निर्णय गरेपछि त्यसको विरोधमा पुत्ला जलाइएको हो । जिल्ला प्रहरी कार्यालय नजिकै अदालत अगाडि कार्यकर्ताहरुले पुत्ला जलाएका थिए । माओवादी अवरोधका कारण १० महिनादेखि अवरुद्ध आयोजना सुचारु गर्न सरकारले बाटो खुल्ने गरी निणर्य गरेपछि वैद्यपक्षीय कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् ।
पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रीय सदस्य एवं भेरी कर्णाली राज्य समितिका सह-इञ्चार्ज हर्कबहादुर शाहीले वन क्षेत्र दिने निणर्य राष्ट्रघाती भएको संज्ञा दिए । ‘बाबुराम आफ्नै पार्टीको नेता भएपनि भारतपरस्त र विस्तारवादको दलाल भएकाले टुलुटुलु हेरी बस्न सक्दैनौं’ शाहीले भने, ‘यस्तै राष्ट्रघाती काम गरिरहे स्वाभिमानी नेपालीले एक दिन कुर्सीबाट लात हानेर भगाउनेछन् ।’



