पूर्व प्रधानमन्त्री नेपालद्धारा शान्ति प्रक्रिया टुंग्याएर मात्रै राष्ट्रिय सरकारको गृहकार्य गर्नुपर्ने भनाई

– कृष्ण ज्ञवाली

 

ललितपुर – पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याएर मात्रै संविधानका आधारभूत विषयमा सहमति र राष्ट्रिय सरकारको गृहकार्य गर्नुपर्ने बताएका छन् ।

सेना समायोजनबाट शान्ति प्रक्रिया टुंग्याइ शिविरहरू खाली गरेपछि मात्रै राष्ट्रिय सहमतिको सरकार र संविधानका सहमतिका विवाद छिनोफानो गर्नु उचित हुने उनले बताए ।

उनले शैक्षिक योग्यता, विवाहको सवाल र उमेर बाहेकका विषयमा छुट हुन नसक्ने स्पष्ट पारे । ‘व्यक्तिगत क्षमताकै आधारमा प्रवेश गर्ने हो, व्रिजिङ र तालिम पूरै सकेपछि मात्रै योग्यता पुगेकाले अधिकृत सरहको पद पाउने हो’ नेपालले भने, ‘नत्र त्यत्तिकै समायोजन सम्भव छैन, सेनामा शाखा प्रशाखा खोल्ने र भोलि विद्रोहको उपकरण बनाउने प्रयास भए हामी सफल हुन दिँदैनौं ।’

राष्ट्रिय सरकार जरुरी रहेको भन्दै उनले तत्काल त्यसलाई उठाएर सेना समायोजनको विषयतलाई तामेलीमा राख्न नहुने बताए । ‘अर्जुनदृष्टि नै सेना समायोजन हुनुपर्छ,’ उनले भने ।