काठमाडौ – सन् २०११ मा मानव अघिकार उल्लंघन र ज्यादतीका कारण मुलुकभर यो वर्ष ३ सय ७७ को हत्या भएको इन्सेकले जनाएको छ । त्यसमध्ये तराईमा मात्रै १ सय ९७ ले ज्यान गुमाएका थिए । अनुगमनसहितको वर्षपुस्तक सार्वजनिक गर्दै इन्सेकले मानव अधिकार उल्लंघनका २ हजार ३ सय ३१ घटना भएको र त्यसबाट ३ हजार ३९ जना पीडित भएको तथ्यांक आइतबार प्रस्तुत गरेको थियो ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालले पुस्तक सार्वजनिक गर्दै मानव अधिकार उल्लंघनका घटना बढ्नु दुःखद भएको बताए । पीडितमध्ये ३ सय ७७ जनाको हत्या भएको छ । यसमा राज्यपक्षबाट १२ मारिएको वर्ष पुस्तकमा उल्लेख छ ।
राज्यबाट मारिएकामध्ये ८ को गैरन्यायिक तरिकाबाट हत्या भएको इन्सेकको आशंका छ । अज्ञात समूहबाट ८९ मारिएका छन् भने ५९ अपहरित छन् । अपहरणका कुल घटनामध्ये ६० प्रतिशत तराईमा भएका छन् । राज्यलगायत विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृ संघसंस्थाबाट ४ सय ५७ जना कुटिएका छन् ।
महिला हिंसाबाट ६ सय ४८ पीडित भएका छन् । घरेलु विवादका कारण ५४ महिला मारिएका छन् । दाइजोका कारण १३ महिलाको ज्यान गएको छ । रौतहटमा मात्रै गएको वर्षमा ८ महिला दाइजो नल्याएको कारण मारिएको पुस्तकमा उल्लेख छ ।
दाइजोका कारण महिलाहरू मारिइनै रहे पनि प्रहरीले कुनै कारबाही नगरेको इन्सेकको दाबी छ । एउटा घटनामा प्रहरीले आरोपितलाई मुद्दा चलाए पनि उनी धरौटीमा रिहा भए । ‘पाँचवटा घटनाका आरोपितलाई यो वर्षको अन्त्यसम्म गिरफ्तार गर्न सकेन,’ वर्ष पुस्तकबारे इन्सेकको विज्ञप्तिमा उल्लेख छ, ‘बाँकी दुईवटा घटनामा प्रहरीले जाहेरी नपरेको भनी अनुसन्धान नै गरेन ।’
सन् २०११ मा ३ सय २८ महिला बलात्कृत भए । त्यसमध्ये १८ वर्षमुनिका २ सय १७ जना थिए । त्यस्तै १ सय २३ महिलामाथि यौनदुव्र्यवहार भयो । २९ महिलामाथि बलात्कारको प्रयास भयो ।
नेपाल बारुदी सुरुङबाट मुक्त घोषणा गरिए पनि सन् २०११ मा विस्फोटनका २२ घटना भए, जसमा परी १० को मृत्यु भयो, २३ घाइते भए । इन्सेकले सन् १९९२ देखि वर्ष पुस्तक निकाल्न सुरु गरेको थियो ।
कान्तिपुर



