सर्वोच्च अदालतले संचारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ बर्ष कैद, ८४ लाख रुपैयाँ भन्दा बढी जरिवाना र त्यत्ति नै रकम विगो असुल गर्ने फैसला गरेको छ । फैसलासंगै गुप्ता मन्त्रीबाट स्वतः निलम्बनमा परेका छन् भने गुप्तालाई आजै डिल्लीबजारस्थित सदरखोर चलान गरिएको छ ।
नेपालमा वहालवाला मन्त्रीलाई जेल चलान गरिएको यो पहिलो घटना हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त ईजलासले आज अपरान्ह गुप्ताको भ्रष्टाचार सम्बन्धि बहुचर्चित मुद्धाको फैसला गरेको हो । सर्वोच्चले फैसला सुनाउनु अघिदेखि नै अदालत परिसरमा उपस्थित हुनुभएका गुप्ताले फैसला लगत्तै ईजलासमै पुगेर आफु विरुद्धको फैसलाको जानकारी लिनु भएको थियो । अदालत परिसरबाटै गुप्तालाई प्रहरी भ्यान राखेर जेल पठाइएको हो । फैसला लगत्तै गुप्ता आफै अदालतमा उपस्थित भई आत्मसमर्पण गरेकाले उहाँले तिर्नुपर्ने जरिवाना रकममा वीस प्रतिशत मिनाहा हुने छ । २०४८ देखि ०५९ सालसम्म निरन्तर सरकारी पदमा रहँदै आउनु भएका गुप्ता विरुद्ध पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो । त्यसपछि एक बर्ष जेल परेका गुप्तालाई २०६३ सालमा विशेष अदालतले सफाई दिएको थियो । विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्च अदालतमा गएको थियो ।
सर्वोच्च अदालतले आज दिएको फैसलामा विशेष अदालतको फैसलालाई पनि त्रुटीपूर्ण भनेको छ । विशेष अदालतको फैसला त्रुटीपूर्ण मात्र नभई न्यायमा विचलन समेत भएको ठहर गर्दै सर्वोच्च अदालतले उक्त फैसला गर्ने विशेष अदालतका तत्कालीन न्यायाधीशहरु भूपध्वज अधिकारी, चोलेश्वर शमशेर राणा र कोमलनाथ शर्मालाई कारबाहीका लागि न्यायपरिषदलाई सिफारिस समेत गरेको छ ।
यसअघि सर्वोच्च अदालतले विशेष अदालतले सफाई दिएका भ्रष्टाचार मुद्धामा पूर्वमन्त्री चिरञ्जीवी वाग्ले र नेपाल वायु सेवा निगमका तत्कालीन प्रमुख रामाज्ञ चतुर्वेदीलाई पनि जेल पठाएको थियो ।



