‘सेनाले आफ्नो बृत्ति विकासमा असर नपर्ने गरी लडाकुलाई मेजरसम्म बनाउन सकिने जुन प्रस्ताव ल्याएको छ, त्यसलाई सकरात्मक रुपमा लिंदै स्वागत गरेका छौं’ एमाले नेता भीम रावलले संवाददाताहरुसँग भने ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि समायोजनको सन्दर्भमा नेपाली सेनाले राखेको अडान सकरात्मक रुपमा दुई दलले लिएको जानकारी दिए । पछिल्लो समयमा कांग्रेस र एमाले नेताहरुले सेनाले लचिलो प्रस्ताव ल्याएको भन्दै सेनाको अलोचना गरेका थिए । उनीहरुले सेनाले ब्रिगेडियर जनरलसम्म लडाकुलाई दिन खोजेको आरोप लगाउँदै त्यो प्रस्ताव आफुहरुलाई मान्य नभएको जनाएको थियो ।
त्यसको प्रतिक्रियामा सेनाले प्रस्ताव अन्तरिम संविधान र दलहरुबीचको सहमतिमा आधारित रहेको र सेनाले आफ्नो पूर्व अडानभन्दा बाहिर गएर प्रस्ताव नगरेको तथा मेजरभन्दा माथिको दर्जा लडाकुलाई दिन नसकिने अडान यथावत रहेको भन्दै स्पष्टिकरण दिएको थियो ।
साथै कांग्रेस र एमालेले बिहीबार नै दिउँसो प्रधानमन्त्री निवासमा हुन लागेको तीन दलको बैठकमा साझा रुपमा सेना समायोजन प्रकृया ढिलो भएको, शान्ति प्रकृया नटुङ्गिएसम्म संविधानलगायतका विषयमा छलफल नगर्नेलगायतका विषयमा कुरा राख्ने पनि बैठकमा सहमति भएको उललेख गरिएको छ ।
त्यसैगरी बैठकले जनयुद्धका घाइते तथा अपांग लडाकुहरुका लागि राजनीतिक तहमा छलफलसमेत नगरी सरकारले राहत प्याकेज तयार पारेर निर्देशिकासमेत पारित गरेको भन्दै विरोध गरेको छ ।



