कांग्रेसका चार नेताले नीतिगत कुरामा असहमति जनाउँदै शेरबहादुर देउवाको क्याम्प छाडे

काठमाडौ – कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, केन्द्रीय सदस्य अम्बिका बस्नेत र पूर्व केन्द्रीय सदस्यद्वय विनयध्वज चन्द र सुनिल भण्डारीसहितका नेताले वरिष्ठ नेता शेरबहादुर देउवाको क्याम्प छाडेका छन् ।

लामो समयदेखि संस्थापन पक्षमा रहेका उनीहरूले कांग्रेसको बाह्रौं महाधिवेशनपछि सभापति सुशील कोइराला क्याम्पलाई छाडेर उपसभापति र महामन्त्रीको मनोनयन, प्रधानमन्त्रीको उम्मेदवारलगायतका सवालमा छलफल गर्दा देउवालाई साथ दिएका थिए । उनीहरू देउवा पक्षको भेलामा प्रायः सधैं उपस्थित हुन्थे ।

पार्टी महाधिवेशनमा संस्थापन पक्षले आफ्नो समूहको केन्द्रीय सदस्यहरूको सूची तयार गर्दा आफ्नो नाम नराखेपछि उनीहरू कोइरालासित टाढिएका थिए । आफ्नो समूहले नेता गुरुङको नेतृत्वमा पार्टीमा समग्र एकता कायम गर्न देशव्यापी अभियान सुरु गर्ने जानकारी जोशीले दिए । उनले देउवाको कार्यशैली पार्टी एकताको पक्षमा नभएकाले उनको क्याम्प छाडेको संकेत गरे ।

‘हामी पहिला संस्थापन पक्षमै थियौं, अहिले पनि संस्थापन पक्षमै छौं, केही एजेन्डामा कुरा मिलेकाले देउवालाई साथ दिएका हौं । हामीले कुनै समूहमा ज्वाइन गरेको पनि होइन, छाडेको पनि होइन । देउवाको कार्यशैली पार्टीको एकताको पक्षमा नभएकाले हामीले उहाँपक्षीय नेताहरूको भेलामा नजाने निर्णय गरेका हौं’ पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले भने- ‘हामीले पार्टी एकताका पक्षमा जसले राम्रो एजेन्डा अघि सार्छ, उसैलाई साथ दिन्छौं ।’

देउवाले बुधबार आयोजना गरेको आफ्नो पक्षका नेताको बैठकमा गुरुङ, जोशीलगायतका नेता अनुपस्थित रहे । ‘तपाईंहरूको पार्टी एकताको अभियान कहिले सुरु हुन्छ ?’ भन्ने प्रश्नमा जोशीले बुधबार भएको देउवा पक्षको भेलामा आफूहरू अनुपस्थित भएदेखि नै समग्र पार्टी एकताको अभियान सुरु भएको बताए ।

देउवाले आफैंले फोन सम्पर्क गरी गुरुङ, जोशी, बस्नेत चन्द र भण्डारीलाई बुधबारको भेलामा उपस्थित हुन आग्रह गरेका थिए । उनीहरूले अब आफूहरू कुनै क्याम्पमा नलागी पार्टी एकताका लागि क्रियाशील हुने जानकारी गराउँदै भेलामा नआउने प्रत्युत्तर दिएका थिए ।

दुई निर्वाचित केन्द्रीय सदस्य गुरुङ र अम्बिका बस्नेतले छाडेपछि देउवा क्याम्प पार्टीमा केही कमजोर हुन पुगेको छ । गुरुङ नेतृत्वको क्याम्पमा केही सभासदसमेत छन्, उनीहरूले समेत छाडेपछि देउवा समूह संसदीय दलमा समेत केही कमजोर हुने दाबी पार्टी स्रोतको छ ।

जोशीले आफ्नो समूह संस्थापन पक्षमा रहने तर सभापति कोइरालाको क्याम्प या अरू कसैको पक्षमा नलाग्ने जानकारी दिए । गुरुङको नेतृत्वमा आफूहरूले छिट्टै सुरु गर्ने देशव्यापी पार्टी एकता अभियानमा प्रमुख सचेतक लक्ष्मण घिमिरे, पूर्व केन्द्रीय सदस्यद्वय सुनिल भण्डारी र श्यामलाल श्रेष्ठसमेत लाग्ने जानकारी जोशीले दिए । उनले आफूहरूको अभियानमा २१ जना सभासद र २० जना पार्टीका जिल्ला सभापतिले समेत साथ दिने दाबी गरी । यो अभियानमा रहेका सबै जना संस्थापन पक्षको रहेको जानकारीसमेत जोशीले दिए । – कान्तिपुर