काठमाडौ – नेपालको लागि कार्यबाहक अमेरिकी राजदूत प्याट्रिसिया ए. माहोनी र शान्ति तथा पुनर्निर्माण मन्त्री सत्य पहाडी बीच शुक्रबार भेटवार्ता भएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालय सिंहदरबारमा शुक्रबार भएको भेटमा कार्यबाहक अमेरिकी राजदूत माहोनीले नेपालको शान्ति प्रक्रिया ठीक ढंगले नै अघि बढिरहेकोमा खुशी व्यक्त गर्दै राजनीतिक दलहरुको तत्परतामा शान्ति र संविधानको कामले अझ तीव्रता पाउनेमा विस्वास व्यक्त गरे ।
राजदूत माहोनीले नेपालको शान्ति प्रक्रियामा अमेरिकाले सदैव सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा अझ थप सहयोग गर्ने बताए । भेटका क्रममा शान्ति तथा पुनर्निर्माण मन्त्री सत्य पहाडीले नेपालको शान्ति प्रक्रियामा अमेरिकाले सकारात्मक सहयोग गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै नेपालमा शान्ति प्रक्रियाका काम तीव्र रुपमा अघि बढिरहेको बताए ।
शान्ति प्रक्रिया पूरा गर्ने क्रममा आगामी दिनमा पनि अमेरिकाको सहयोग जारी रहनेमा आफू आशावादी रहेको समेत मन्त्री पहाडीले बताए । भेटमा युएसएडका मिसन डाइरेक्टर डेभिड सी. अट्टबेरी पनि सहभागी थिए । –कान्तिपुर



