धनगढी – प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियाले अहिले गति लिएको बताएका छन्। सहमति कायम हुन बाँकी रहेका विषयमा केही दिनदेखि भइरहेको घनिभूत र जिम्मेवार ढंगले भइरहेको दलहरुबीचको संवादले राष्ट्रिय सहमतिको सरकार निर्माणमा पनि महत्त्वपूर्ण सहमति हुने उनले बताए।
छैटौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नो सरकार गठन हुनुभन्दा अगाडि ठप्प रहेको शान्ति र संविधानले गति लिएको बताए। ‘आगामी जेठ १४ भित्रै शान्तिप्रकृया र संविधान लेखन कार्य पूरा हुनेमा म सबैलाई विश्वास दिलाउन चाहन्छु’, उनले भने। आफ्नो सरकार सुशासन र समृद्धिमा पनि केन्द्रित भएको प्रधान मन्त्री भट्टराईले बताए।
छैटौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति रामवरण यादवले गरेका थिए।
प्रधानमन्त्रीको सम्बोधन जस्ताको तस्तै-
सम्माननीय राष्ट्रपति महोदय,
मन्त्रीज्यूहरु, खेलाडी साथीहरु,
उपस्थित खेलप्रेमी महिला तथा सज्जनवृन्द!
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ कैलाली जिल्लाको यस धनगढी नगरमा भव्य एवं उल्लासमय वातावरणमा आयोजित छैटौं राष्ट्रिय खेलकुदमा आफ्नो समर्थन र सहभागिता जनाउँदै यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अभिवादन गर्न चाहन्छु। साथै सम्पूर्ण सहभागी, खेलाडी, व्यवस्थापक, प्रशिक्षक, निर्णायक तथा प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई नेपाल सरकारको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु।
विकासका दृष्टिले पछाडि परेको सुदूरपश्चिममा राष्ट्रिय महत्वको सबैभन्दा ठूलो खेलको आयोजनाको काम तीन महिनामै सम्पन्न गरेर सुदूरपश्चिमबासीहरुले आफ्नो क्षमता प्रदर्शन गरिसक्नुभएको छ। यो आयोजना सुदूरपश्चिमबासीका लागि एउटा गौरव र आत्मसम्मानको विषय पनि हो। भौगोलिक मात्र नभई राज्यको दृष्टिमा राजधानीबाट सदियौंसम्म सुदूर रहेको यस क्षेत्रका जनताहरुले राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्न र अवसर पाए अन्य क्षेत्रसँग समानरुपले स्वस्थ प्रतिस्पर्धामा खरो उत्रिन सक्षम छन् भन्ने कुरा दहृो रुपले प्रमाणित गरिदिएका छन्। यस अवसरमा सुदूरपश्चिम, अब केन्द्रको दृष्टिबाट ओझेलमा पर्ने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु। साथै आयोजनाले खेलकुदको विकास मात्र होइन सुदूरपश्चिमको समग्र विकासको ढोका खोल्न यथेष्ट मद्दत पुर्याउने छ भन्ने पनि मैले ठानेको छु।
खेलकुद स्वस्थ नागरिक बनाउन मात्र होइन अनुशासित र आफू जन्मेको माटोप्रति अगाध ममता बढाउने माध्यम पनि हो। यो राष्ट्रिय गौरव र पहिचानलाई विश्वव्यापी बनाउने र राष्ट्रिय र राष्ट्रिय एकता तथा अन्तर्राष्ट्रिय सद्भाव एवं भाइचारा बढाउने अवसर पनि हो। खेलकुदलाई हिजोआज विश्वका धनी-गरीब, साना-ठूला सबै देशले उच्च महत्व दिदैं प्राथमिकतामा राख्ने गरेका छन्। खेलकुदको आयोजनाले आयोजना स्थलमा खेलप्रति जागरण ल्याउन, खेलमा नयाँ प्रतिभा जन्माउन, आफू जन्मेको ठाउँप्रति गौरव गर्न मात्र उत्प्रेरित गर्दैन यसले त खेल पर्यटन, सांस्कृतिक प्रर्वद्धन र अन्य विकास निर्माणका पूर्वाधारको विकासमार्फत आर्थिक, सामाजिक सम्बृद्धिको ढोकासमेत खोल्छ। त्यसैले राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न बिभिन्न क्षेत्रीय सदरमुकामहरुबीच जुन प्रतिस्पर्धा हुुन्छ अन्तर्राष्ट्रिय जगतमा त्यसभन्दा कयौं गुणा बढी प्रतिस्पर्धा हुने गरेको छ। त्यसैले सुदूरपश्चिमले यो आयोनजामार्फत आफ्नो क्षमता, सीप, संस्कृति, पर्यटन र अन्य विकासका सम्भावनाको प्रर्दशन तथा प्रर्बद्धन गर्ने राम्रो अवसर पाएको छ। मलाई आशा एवं विश्वास छ यो आयोजनाले सुदूरपश्चिमबासीलाई राष्ट्रको विकास निर्माण र राष्ट्रिय एकताको मूलप्रवाहमा अझ सुदृढ ढंगले समाहित गर्ने छ। यो खेलको आजसम्मको तयारीले राजनीतिक, सामाजिक र क्षेत्रीय, जातीय, भाषिक हिसाबले विविधतायुक्त सामाजिक बनौटलाई एक सूत्रमा बाँधी एकैथलोमा उभ्याउन सफलता हासिल गरिसकेको छ, यो हाम्रो लागि ठूलो महत्वको विषय हो। संविधान निर्माण, शान्तिप्रकृया र देश निर्माणमा पनि यसरी नै एक भएर लाग्न यो आयोजनामार्फत देखिएको सबै पक्षको एकताले प्रेरणा दिनेछ भन्ने विश्वास पनि मैले राखेको छु।
वर्तमान सरकारले चार “स” अर्थात शान्ति, संविधान, सुशासन र संबृद्धिलाई प्रमुख एजेण्डा बनाएको छ। यो सरकार गठन हुनुभन्दा अगाडि ठप्प रहेको शान्ति र संविधानले गति लिएकोे छ। आगामी जेष्ठ १४ भित्रै शान्तिप्रकृया र संविधान लेखन कार्य पूरा हुनेमा म सबैलाई विश्वास दिलाउन चाहन्छु। केही दिनदेखि प्रमुख राजनीतिक दलहरुबीच शान्ति र संविधानका सहमति कायम हुन बाँकी रहेका विषयहरुमा केन्द्रित भएर जुन घनिभूत र जिम्मेवारीपूर्ण ढंगले संवाद चलिरहेको छ, त्यसबाट छिट्टै शान्ति, संविधान र राष्ट्रिय सरकार निर्माणमा महत्वपूर्ण सफलता हासिल हुने निश्चित छ। शान्ति र संविधान लेखन प्रकृया संगसँगै सरकारको ध्यान सुशासन र सम्बृद्धिमा केन्द्रीत भएको छ। वर्तमान सरकारको प्रमुख काम शान्ति र संविधान नै भएता पनि सरकारले प्रदान गर्ने सेवा र वस्तुहरु सरल र सुलभ रुपमा प्राप्त होउन् भन्ने जनताको चाहनाको सम्बोधन सरकारले नै गर्नु पर्दछ। वर्तमान सरकारले जनताप्रतिका उत्तरदायित्व पूरा गर्न सुशासनको क्षेत्रमा बिभिन्न गतिबिधिहरु सार्वजनिक गरि अगाडि बढाइरहेको छ र अझ प्रभावकारीरुपमा अगाडि बढाउन सरकार कृतसंकल्प छ। आर्थिक सम्बृद्धिबिना खेलकुदको पनि दीगो विकास हुन नसक्ने भएकाले सरकारले हालै आर्थिक विकास र सम्बृद्धिको तत्कालीन कार्ययोजना तयार गरेर तदारुकताकासाथ कार्यान्वयन गरिरहेको छ। शान्ति, संविधान, सुशासन र सम्बृद्धिलाई अगाडि बढाउन खेल जगतका तपाई सम्पूर्ण खेलाडीहरुको सद्भाव र आवश्यक सहयोग सरकारले प्राप्त गर्नेछ भन्ने कुरामा म पूर्णरुपमा विश्वस्त छु।
आजभन्दा ठीक तीसबर्ष पहिले सुरु गरिएको खेल महोत्सव तीन संस्करणपछि लामो समय अवरुद्ध हुन पुग्यो। देशको जनसंख्याको धेरै ठूलो हिस्सा आफ्ना आर्थिक, सामाजिक, राजनीतिक अधिकारका लागि सशस्त्र जनयुद्धमा थियो। त्यस कारण यस्ता आयोजनाहरु सम्पन्न हुन नसक्नुलाई मैले स्वभाविक ठानेको छु । २०६५ सालमा संविधानसभाको निर्वाचनपछि नेकपा (माओवादी) को नेतृत्वको सरकारकै पालामा पाँचौ राष्ट्रिय खेलकुद आयोजना गरेर निरन्तरता दिइएको यस्तो प्रतियोगिता गतबर्ष नै सम्पन्न भइसक्नु पर्नेमा ए. नेकपा (माओवादी) को नेतृत्वको सरकार बनेपछि त्यो पनि बिकासका दृष्टिले पछाडि परेको सुदूरपश्चिममा आयोजना हुनुु मेरो लागि सुखद संयोग हो। यो आयोजना वर्तमान सरकारले खेलकुदलाई दिने महत्वको एउटा उदाहरण पनि हो। १६ खेलमा ७८ स्वर्णसहित २२६ पदकका लागि २२३ महिलासहित १४४३ खेलाडी सहभागी पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आज छैटौं संस्करणमा आइपुग्दा संख्यात्मक र गुणात्मक हिसाबले धेरै फड्को मारेको छ। कूल १३९४ महिलासहित ३६२८ खेलाडीले ३०२ स्वर्णसहित १०६९ पदकका लागि ३२ खेलमा प्रतिस्पर्धा गर्दैछन्। खेल संख्याका हिसाबले दुईगुणा, पदकका हिसाबले साढे चारगुणा, खेलाडी संख्याका हिसाबले साढे दुईगुणा र महिला खेलाडी संख्याका हिसाबले झण्डै पाँचगुणा ठूलो यो खेल गुणात्मक हिसाबले पनि उच्चस्तरको हुने अपेक्षा नेपाल सरकारले राखेको छ। खेलकुदको आयोजनाले राष्ट्रिय प्रतिभाको पहिचान गरि प्रतिभामा निखार ल्याउन र उत्कृष्ट बनाउन यथेष्ट मद्दत पुर्याएको छ। यो खेलकुदको आयोजनाले आगामी सार्क स्तरीय खेलकुदका लागि उत्कृष्ट खेलाडी छनौट गर्न र निरन्तर प्रशिक्षणबाट आगामी साग खेलमा नेपालको दरिलो उपस्थितिका साथ राष्ट्रिय गौरव उँचो राख्न मद्दत मिल्ने विश्वास पनि वर्तमान सरकारले लिएको छ।
नेपाल प्राकृतिकरुपले सुन्दर मात्र होइन हावापानीका दृष्टिले कतिपय अन्तर्राष्ट्रिय स्तरका खेलकुद आयोजनाका लागि उत्कृष्ट हावापानी र भौगोलिक बनौट भएको मुलुक पनि हो। खेल पर्यटनका माध्यमबाट हामीले प्रशस्तै आर्थिक लाभ उठाउन सक्छौं। त्यसका लागि पूर्वाधारको निर्माण गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रर्बद्धन गर्न आवश्यक छ, राष्ट्रिय स्तरमै अन्तर्राष्ट्रिय पहिचानका खेलाडीहरु उत्पादन गर्न सकेमात्र अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न अन्तर्राष्ट्रिय खेल संगठनहरु तत्पर हुन्छन्। त्यसैले खेल पर्यटनबाट फाइदा लिन खेलाडीको उत्पादन आवश्यक छ। यस तथ्यलाई मनन गरेर नै खेलकुद परिषद्ले ह्त् परियोजनामार्फत खेल&



