काठमाडौ – आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरूले फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । यातायात ब्यबसायीले भने भाडा बढाउने जनाएका छन् ।
निगम सञ्चालक समितिले शुक्रबार प्रतिलिटर पेट्रोल, डिजेल, मटि्टतेल र आन्तरिक हवाइ इन्धनमा ४ रुपैयाँ मुल्य वृद्धि गरेको थियो । ‘मुल्य वृद्धिले गरिब र अभावमा बाँचेका नेपाली जनताको बाँच्ने हकमाथि अंकुश लगाएको छ,’ नेपाल विद्यार्थी संघले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘वृद्धि तत्काल फिर्ता नलिए नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रन बाध्य हुनेछ ।’
संघले मुल्य वृद्धिको विरोधमा प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र समेत बुझाउने भएको छ । त्यसैगरि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन -अनेरास्वियु) ले मुल्य वृद्धि फिर्ता नलिए कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । अनेरास्वीयु र नेविसंघले विद्यार्थीलाई पेट्रोलियम पदार्थमा ३३ प्रतिशत सहुलियत दिन गरेका सहमति पनि अविलम्व कार्यान्वयन गर्न माग गरेको छ ।
नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघले सरकारले ५ दिनभित्र मुल्य वृद्धि फिर्ता नलिए सार्वजनिक सवारी साधनको भाडा बढाउने जनाएको छ । ‘५ दिनभित्र मुल्य वृद्धि फिर्ता नलिए महासंघले बाध्य भएर सार्वजनिक सवारी साधनको भाडा वैज्ञानिक आधारमा वृद्धि गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
विरोध गर्नेमा जनमोर्चा नेपाल पनि छ । जनमोर्चा नेपालले वृद्धिप्रति गम्भीर असहमति जनाउँदै विज्ञप्तिमार्फत दाबी गरेको छ, ‘निगममा प्रभावकारी अनुगमन, प्रशासनिक सुधार, अनियमितता हटाउँदा मुल्य वृद्धिको अबस्था न्युन हुन्छ । हाम्रो पार्टी वृद्धि फिर्ता लिन जोडदार माग गर्छ ।’ कान्तिपुर



