काठमाडौको बबरमहलस्थित जिल्ला अदालत र आयल निगमबीचको सडकमा सोमवार दिउँसो गराइएको बम बिस्फोटमा गम्भीर घाइते बनेका सोमबहादुर तामाङ्गको गएराति बीर अस्पतालमा शल्यक्रिया गरिएको छ । हात खुट्टालगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेका बिष्णुप्रसाद फुलारा र रघुनाथ खड्काको पनि बीर अस्पतालमै उपचार भइरहेको छ । यसअघि हिजोको विष्फोटमा तीन जना मारिएका थिए ।
दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । मारिनेमा धादिङ बैरेनीका कृष्णबहादुर तामाङ, मानबहादुर तामाङ र बीरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाहिरको भिडभाडयुक्त क्षेत्रमा गराइएको बिस्फोटमा ६ जना घाइते भएका थिए । विष्फोट कसले गराएको भन्नेमा सरकारी अधिकारीहरुले केही नबताए पनि रिमोट कन्ट्रोलबाट विष्फोट गराउन मिल्ने ईलेक्ट्रोनिक डिभाईस प्रयोग गरिएको गृह मन्त्रालयले जनाएको छ । तर संयुक्त जातीय मोर्चा नामक भूमिगत संगठनले भने संचार माध्यमहरुमा फोन गरी आप्mनो समूहले विष्फोट गराएको दाबी गरेको छ ।
राजमार्गहरुमा सवारी साधनमा आगजनी गरी हिंसात्मक गतिविधि शुरु गरेको उक्त समूहले यसअघि विभिन्न जिल्लामा गाविस सचिवहरुलाई राजीनामाका लागि धम्की दिंदै आएको थियो । बिस्फोटको घटना छानबिन गर्न गृहमन्त्रालयले प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा चार सदस्यीय अनुसन्धान टोली गठन गरेको छ । समितिमा प्रहरी बरिष्ठ उपरीक्षकद्वय देवेन्द्र सुवेदी, केदारमानसिंह भण्डारी र प्रहरी उपरीक्षक सुबोध घिमिरे सदस्य छन् ।



