विस्फोटमा मारिने को थिए ?

 काठमाडौ, फाल्गुन १७ – नेपाल आयल निगमको कार्यालयअगाडि सोमबार बम विस्फोटमा परी मृत्यु हुनेहरू जग्गा धितो राख्न धादिङ र बाराबाट काठमाडौं आएका सर्वसाधारण भएको देखिएको छ ।

न्यून आर्थिक स्थितिका उनीहरू धादिङ बैरेनीका एक दलालमार्फत आफ्नो जग्गा अदालतमा धरौटीमा राख्न आएको प्रहरीको प्रारम्भिक अनुसान्धानमा देखिएको हो । ुविस्फोटको प्रकृति हेर्दा बम बोकेर आएका व्यक्ति नै परेको हुन सक्ने शंका गरिए पनि अहिलेसम्म घटनामा परेर ज्यान गुमाउने र घाइतेको संलग्नताको प्रमाण भेटिएको छैन,ु अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ुअनुसन्धान नटुंगिएसम्म प्रस्ट भन्न सकिन्न ।ु


प्रहरीका अनुसार धादिङकै नवराज अधिकारी नामका व्यक्तिले उनीहरूलाई सडक छेउका जग्गा जिल्ला अदालतमा राखेर व्यक्ति छुटाउन प्रयोग गर्दै आएका थिए । राजमार्ग आसपासमा रहेका खोला किनारका जग्गाको लालपुर्जा उनीहरूको नाममा छ । खोला र डाँडा पर्ने भएकाले उब्जनी नहुने र सहजै बिक्री पनि नहुने ती जग्गा राजमार्ग छेउ भएकै कारण देखाएर दलालले बढी मूल्यांकन गर्ने गरेका थिए ।


बढी मूल्यांकन गराएर अदालतबाट छुट्ने व्यक्तिलाई धरौटीमा रिहा गर्न ती जग्गा देखाइने रहेछ, ती प्रहरी अधिकृतले भने, मारिएका व्यक्तिहरू त्यसैका लागि आएका थिए । दलालले उनीहरूलाई आर्थिक लालच देखाएर जग्गा धरौटीमा राख्न लगाउने गरेको प्रहरीले जनाएको छ । सोमबार पनि अदालतमा लालपुर्जा बोकेर गएका बेला विस्फोटमा परेका थिए ।


मृतकका आफन्तले पनि नातेदार बेकसुर भएको दाबी गरे । धादिङ पुख्र्यौली घर भएर बारामा बस्दै आएका वीरबहादुर तामाङकी बुहारी कान्छीमायाले पनि आफ्ना श्रीमान् र ससुरा त्यसैका लागि आएको


बताइन् । दुर्घटनामा परेर उनका श्रीमान् सोमबहादुर गम्भीर घाइते भए भने ससुराको मृत्यु हुन पुग्यो ।


अर्का मृतक कृष्णबहादुरका बाबु लालबहादुरले पनि जग्गा बैंकमा राखेर पैसा झिक्न छोरा काठमाडौं आएको बताए । घटनामा उनी पनि घाइते भए । सोमबार बेलुकी नै अस्पतालबाट डिस्चार्ज भएका उनले छोरो कृष्णबहादुर र छिमेकी मानबहादुर जग्गा धितो राख्न काठमाडौं आएको बताएका थिए । डिस्चार्ज भएपछि काठमाडौं प्रहरीले उनलाई सोधपुछका लागि हनुमानढोका लगेको थियो । उनले आफू धादिङकै नवराज अधिकारीसँग अदालतमा जग्गा धरौटीमा राख्न आएको बताएका थिए । कुखुरा पालन गरिरहेका उनले जग्गा धितो राखेर पैसा निकाल्न लागेको बताएका छन् ।


सुरक्षामा कडाई


मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारदेखि २० मिटर दूरीमा शक्तिशाली बम विस्फोट भएपछि सरकारले राजधानीका विभिन्न स्थानमा सुरक्षा सतर्कता बढाएको


छ । सामान्य अवस्थामा परिचयपत्र मात्र हेरेर पठाइने सिंहदरबारमा मंगलबार शरीर खानतलासी समेत गरिएको थियो । विमानस्थलमा पनि सुरक्षा कडा बनाइएको थियो । मोटरसाइकल र निजी सवारी साधनमाथि पनि कडा जाँच गरियो । घटनास्थल आसपासका क्षेत्रमा पनि सुरक्षामा कडाइ गरिएको छ । अदालत र आयल निगम कार्यालयभित्र जान परिचयपत्र अनिवार्य गरिएको छ । मोटरसाइकल पार्किङ गर्न र चिया पसल


राख्न समेत दिइएन । बबरमहलबाट भित्र पस्ने र सिंहदरबार तर्फबाट भित्र पस्ने ढोकामा सुरक्षा कडा पारिएको छ ।