सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाका लागि चिनीयाँ कम्पनीसंग समझदारी

पश्चिम सेती जलविद्युत आयोजनाका लागि चिनीयाँ कम्पनीसंग समझदारी


सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाका लागि चीनको चाइना थ्रिगोर्जेज इन्टरनेशनल कर्पोरेशन संग समझदारी भएको छ । पश्चिम सेतीमा लगानी गर्ने विषयमा बुधबार अर्थमन्त्री पोष्ट बहादुर बोगटी र नेपालका लागि चिनियाँ राजदूत याङ्ग हो लानको उपस्थितीमा उर्जा मन्त्रालयका सहसचिव अर्जुनकुमार कार्कीले र थ्रिगोर्जेज कम्पनीको तर्फबाट कार्यकारी उपाध्यक्ष वाङ सावेफेङले हस्ताक्षर गर्नुभयो ।

 

करिब १ खर्ब २४ अर्ब बराबर रुपैयाँँको आयोजनामा थ्रिगोर्जेजको ७५ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको २५ प्रतिशत शेयर लगानी रहने छ ।

यो आयोजना नेपालको आन्तरिक खपतको लागि हुने बताइएको छ । थ्रिगोर्जेजको ७५ प्रतिशत अधिकतम शेयर मध्येबाट आयोजना स्थलका स्थानीय जनतालाई २ देखि ५ प्रतिशत शेयर छुट्याउने भएको छ भने नेपाली प्रबद्र्धकलाई समावेश गर्न सक्ने सहमतीपत्रमा उल्लेख गरिएको छ ।

प्राधिकरणको २५ प्रतिशत शेयर वापत लाग्ने आवश्यक पूँजी चाइनाको एक्जीम बैंकबाट सहुलियत दरमा ऋण उपलब्ध गराउन समेत थ्रिगोर्जेजले सहयोग गर्ने भएको छ । यस्तै, एक्जीम बैंकबाट प्राप्त ऋण अपुग भए बाँकी ऋण समेत थ्रिगोर्जेजले उपलब्ध गराउने समझदारी भएको छ । कम्पनीले आफ्नै खर्चमा प्राविधिक, आर्थिक, वातावरणीय प्रभावको अध्ययन पुनरावलोकन गर्ने छ । आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोड्न प्रसारण लाइन निर्माणमा समेत कम्पनीले सहयोग गर्ने समझदारीमा उल्लेख छ ।

थ्रिगोर्जेजले अक्टुबर २०१४ सम्ममा हिसाव किताव सम्पन्न गरिसक्नु पर्ने छ भने आयोजना सन् २०१९ सम्ममा सम्पन्न गरिने लक्ष्य राखिएको छ । छिमेकी राष्ट्रको जलविद्युतमा चिनियाँ लगानी भित्र्याउने चीन सरकारको योजना अनुसार नै पश्चिम सेतीमा चीनले लगानी गर्न लागेको थ्रिगोर्जेजका कार्यकारी उपाध्यक्ष सावेफेङले बताउनुभयो । चीनले छिमेकी राष्ट्रमा १४ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । समयमा नै आयोजन सम्पन्न गर्न सबै पक्षको सहयोग चाहिनेमा पनि थ्रिगोर्जेजले जोड दिएको छ ।