शान्ति र संविधान निर्माण कार्य पूरा नभए अप्ठ्यारो स्थिति सिर्जना हुने माओवादी पुष्पकमल दाहालको भनाई

काठमाडौं  – माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधान निर्माण कार्य पूरा नभए अप्ठ्यारो स्थिति सिर्जना हुने बताएका छन् ।

लुम्बिनीमा बिहीबार ‘लुम्बिनी-सगरमाथा शान्ति अभियान यात्रा- २०१२’ लाई सम्बोधन गर्दै दाहालले भने, ‘यो प्रक्रियालाई सफल गर्न सक्दा हाम्रो पिंढी नै गौरावान्वित हुने वाला छौं । हामीले यसलाई सफल पार्न सकेनौं भने निकै अप्ठ्यारो भूमरीमा पर्ने स्थितिमा पनि छौं ।’

दाहालले शान्ति प्रक्रिया अगाडि बढे पनि समस्याहरु उत्तिकै रहेको उल्लेख गरे । ‘निश्चय नै शान्ति प्रक्रिया अगाडि बढेको छ तर केही समस्याहरु छन्, तर पनि यो प्रक्रिया निष्कर्षमा पुग्दैछ ।’ उनले शान्ति र संविधानको कार्यभार पूरा गर्न तीन दलले लगातार छलफल गरिरहेको जानकारी दिए ।

संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिका संयोजकसमेत रहेका दाहालले संविधान निर्माणमा पनि चुनौति रहेको बताए । ‘तर पनि निष्कर्षमा पुर्‍याउनुको विकल्प राजनीतिक दल र नेताहरुका लागि छैन,’ उनले भने, ‘त्यसका लागि हामीलाई समयको दबाब पनि परेको छ ।’

दाहालले राजनीतिक दलहरुबीच जतिसुकै विमत्ति भए पनि एकता सम्भव रहेको दाबी गरे । ‘पहिले हामी एकअर्काका विरुद्ध साँच्चै हामी युद्धमै थियौं,’ दलहरुबीच विचारका बहस स्वभाविक भएको बताउँदै दाहालले भने, ‘अहिले त बहसमात्रै छन्, बहसबाट एकता कायम गर्न सम्भव छ ।’

संविधानसभाको ठूलो दलको हैसियतले माओवादीले आफ्नो जिम्मेवारी पूरा गर्ने दाहालको प्रतिबद्धता थियो ।  –
कान्तिपुर