काठमाडौ – संवैधानिक समितिको शुक्रबार बसेको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । प्रमुख दलका शीर्ष नेतृत्वको आग्रहमा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो ।
सहमति हुन नसकेको विवादित विषयलाई सूचीकृत गरी संविधानसभामा पठाउने समितिले तयारी गरेको थियो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले तीन दलबीच विवादित विषयहरुमा भइरहेको छलफल सकारात्मक दिशामा रहेकाले तत्काललाई विवादित विषयलाई सूचीकृत नगर्न आग्रह गरेका थिए ।
यसअअि संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले फागुन १९ गते पछाडि मिल्न नसेकेको विषय टुंग्याउन संविधानसभामा पठाइने बताएका थिए । संविधानसभा कार्यव्यवस्था समितिले फागुन २० गतेसम्म विवादित सबै विषयमा सहमति जुटाउन समयसीमा तोकेको छ ।
बैठकपछि एमाले सभासद् अग्नी खरेलले तीन दलबीच घनिभूत छलफल भइरहेको र थप छलफलको आवश्यकता देखिएकोले तत्काललाई विवादित विषय सूचीकृत नगरिएको बताए । बिहीबार तीन दलबीच भएको छलफल बारे शीर्ष नेतृत्वले बैठकमा जानकारी गराएका थिए ।
समितिको आगामी बैठक फागुन २८ गते बोलाइएको छ । सभापति आचार्यले आधारभूत विषयमा सहमति जुटाउने प्रयास जारी रहेको बताए ।’आउँदो बैठक अवधि सम्म सहमतिको आधार खोजिने विश्वास छ,’उनले भने-‘राम्रो परिणामको आशा गरौं । ‘ – कान्तिपुर



