पाँच महिनाअघि भक्तपुरको बिशंखुनारायण नजिकै कोटडाँडामा भएको बुद्ध एअरको विमान दुर्घटना सम्बन्धी जाँच गर्न गठित आयोगले आज पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरलाई प्रतिवेदन बुझाएको छ ।
आयोगले चालक दलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण बिधि अवलम्बन नगरी बादलमा प्रवेश गरेको र बादलभित्रै वायुयानको उचाई तल झारेका कारण दूर्घटना भएको निश्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।
आयोगका अध्यक्ष राजेशराज दलीले विमानमा कुनै प्राविधिक समस्या नभेटिएको उल्लेख गर्दै बादलभित्र पसेर चालक दलले वास्तविक स्थिति बोध गर्न नसकेका कारण विमान दुर्घटनामा परेको बताउनु भयो । दलीका अनुसार चालक दललाई आफ्नो गल्ति सच्याउन केवल तीन चार सेकेण्डको समय प्राप्त थियो तर उक्त समयमा गल्ती सच्याउन नसकेका कारण दुर्घटना भएको हो । आयोगले यो दुर्घटनालाई चालक नियन्त्रित वायुयान दुर्घटना भनेको छ ।
दुर्घटनाका सहायक कारणहरुमा स्तरीय कार्यविधि र उड्डयन सूचना प्रकाशन पुस्तकको निर्धारित ढाँचाभन्दा अमिल्दो र त्रुटीपूर्ण अवतरण विधिमै दैनिक उडान भर्नु, वायुयान जमिन नजिक भएको जनाउ दिने जीपीडब्लुएसको यान्त्रिक अभ्यास गर्ने उपकरण पनि अमिल्दो हुनु र अभ्यास गरिने विधि पनि फरक भएको उल्लेख गरिएको छ ।
यस्तै चालक दलको थकान, अन्य चालकहरुबाट गरिएको व्यक्तिगत जीवनसँग सम्बन्धित टिका टिप्पणी, फरकफरक प्रकारको विमान उडाउने अभ्यास र बादलमा छिर्दा हुने दृष्टिगोचर भ्रमका कारण चालकदलको निर्णय लिने क्षमतामा त्रुटि भएको पनि अनुसन्धानबाट देखिएको प्रतिवेदनमा उल्लेख छ ।