बेलायतमा हालै गरिएको एक अध्ययनले बेलायती जनता विभिन्न हिसाबका समस्या हल गर्न कमजोर रहेको देखाएको छ ।
नेशनल न्यूमरेसी नामक संस्थाले गरेको अध्ययनमा हिसाब कितावमा

कम दक्ष भएका कारण बेलायती जनताको दैनिक कारोवारसंगै अर्थव्यवस्थामा पनि गोप्य ढंगबाट नकारात्मक प्रभाव परेको उल्लेख छ ।
यसबाट करिब साढे २ अर्ब पाउण्ड सरकारी कोष नोक्सान हुने गरेको जनाइएको छ ।
धेरै बेलायतीहरु आफ्नो तलब लगायत तिर्नु पर्ने बिल र रेलको टाइम टेबल बुझ्नमा पनि कमजोर देखिएका छन् ।
न्यूमरेसीले बेलायतमा गणित विषयमा कमजोर भएका विभिन्न चर्चित हस्तीहरुको नाम सार्वजनिक गरेर यसप्रति आमजनताको व्यवहार परिवर्तन गराउन पहल गर्ने पनि जनाएको छ ।
बेलायतमा १५ प्रतिशत जनताले मात्र १६ वर्षपछि पनि हिसाबको पढाईलाई निरन्तरता दिने गरेका छन् ।
बेलायत सरकारले हालै जारी गरेको तत्थ्यांकबाट पनि देशमा कामकाजी जनता मध्ये करिब आधाले प्राथमिक कक्षासम्म मात्र गणित विषय पढेका छन् ।
एक सरकारी प्रवक्ताले त हिसाब किताबमा कमजोर देखिनु राष्ट्रिय घोटाला नै भएको जनाएका छन् ।