प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुर्व राजा ज्ञानेन्द्र शाहले शान्तिप्रक्रिया र संविधान लेखनलाई भाँड्न खोजेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दे प्रधानमन्त्री भट्टराईले पुर्व राजा ज्ञानेन्द्रले राष्ट्रियता र लोकतन्त्रका नाउँमा शान्ति र संविधानबिरोधी काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले नागरिकका रुपमा बस्न समेत पुर्व राजालाई सुझाव दिनुभयो ।
सरकार शान्ति र संविधान विरोधी सबै खाले षडयन्त्रलाई परास्त गर्न सफल हुने भन्दै उहाँले सेना समायोजनको विषय अन्तिम चरणमा पुगेको दाबी गर्नुभयो । यसअघिका सहमती अनुसार नै सेना समायोजनको काम हुने उहाँको भनाई थियो । प्रधानमन्त्री भट्टराईले छलफलका लागि विभिन्न प्रस्ताव लगिए पनि पदको विषयलाई लिएर सेना समायोजनको काम नरोकिने स्पष्ट पार्नुभयो ।
शान्ति, संविधान र राष्ट्रिय सहमतीको सरकार अहिलेको मुल एजेण्डा भएको भन्दै प्रधानमन्त्री भट्टराइले राष्ट्रिय सहमतीको सरकार गठनमा आफु बाधक नबन्ने वताउनुभयो । दलहरुबीचको सहमतीमा जो सुकै प्रधानमन्त्री बने पनि आफुलाई मान्य हुने उहाँको भनाइ थियो ।



