कालिमाटी तरकारी बजारमा आगलागी, ६ को मृत्यु

काठमाडौं, २१ फागुन राजधानीको कालिमाटीस्थित तरकारी बजारमा आगलागी हुँदा  ६ जनाको ज्यान गएको छ । त्यस्तै, एक जना घाइते भएका छन् । गएराति सवा १० बजेतिर विद्युत सट भई आगालागी भएको थियो । आगलागी ३ सय ३४ वटा स्टल रहेको २ तले बहुउद्देश्यीक भवनमा भएको हो । 
 
मृत्यु हुनेमा तरकारी बजारका सुरक्षा गार्ड हिराबहादुर पुन, उनका छोरीरु शान्ति र निरा तथा छोरा निराजन पुन रहेका छन् । त्यस्तै, पुनकी श्रीमती हिको अवस्था भने गम्भीर रहेको कालिमाटी प्रहरीले बताएको छ । उनको सैनिक अस्पताल छाउनीमा उपचार भईरहेको छ । अर्का दुई जनाको भने पहिचान खुलेको छैन् । 
 
आगलागीबाट कालिमाटीको मुख्य प्रवेशद्वारका साथै आसपासका घरहरु जलेका छ । आगलागी भएपछि काठमाडौंका सबै दमकलको प्रयोग गरी राति १ बजे नै आगलागी नियन्त्रणमा ल्याइएको छ । 
आगलागीबाट साढे ५ सय मेट्रिक टन तरकारी जलेर नष्ट भएको छ । अहिले क्षतीको विस्तृत विवरण संकलन काम भईरहेको छ । जिल्लाबाहिरबाट तरकारी बाकेर आउने ट्रकहरु अहिले गेटबाहिर नै रोकिएका छन् । राजधानीको सबैभन्दा ठूलो तरकारी बजारमा आगलागी हुँदा काठमाडौंमा तरकारी आपूर्तिमा समेत समस्या देखिने भएको छ ।