संविधान सभाको म्याद आफै थप्ने चलन बसेकाले अहिलेको संविधानसभा मार्फत् नयाँ संविधान बन्न नसकेको स्वीकार गर्दै उनले यसो गर्दा अदालतको फैसलामाथि पनि आँच आएको बताए । बाहिर हेर्दा तीन ठूला दल बीचको असहमति देखिए पनि माओवादी आफैले स्पष्ट निर्णय नगर्दा बेला बेलामा शान्ति प्रक्रिया धरापमा पर्ने गरेको देउवाले बताए ।
कांग्रेस रोल्पाले आइतबार सदरमुकाम लिबाङमा आयोजना गरेको आमसभामा बोल्दै कांग्रेसका वरिष्ठ नेता देउवाले माओवादीका कारण नयाँ संविधान निर्माण, शान्ति प्रक्रियाको टुंगो, सेना समायोजन लगायतका विषयमा अन्यौलता आएको बताए । ‘माओवादी जिम्मेवार भए शान्ति प्रक्रिया समयमै टुंगिसक्ने थियो ।’ सभाका प्रमुख पाहुना रहेका देउवाले भने, ‘सेना समायोजनको नाममा गैर जिम्मेवार अभिव्यक्ति मात्र सार्वजनिक गर्दै माओवादी नेताले अहिलेको अवस्थालाई थप लथालिङ्ग बनाउन खोजेका छन् ।’
अहिलेको अवस्थाबाट मुलुकको निकास निस्कन नसिकेमा चुनावी प्रक्रिया मार्फत नयाँ अवस्थामा जानुको विकल्प नभएको उनले बताए । ‘फ्रेस म्यान्डेटमा जानु पर्छ ।’ देउवाले भने, ‘काम पनि नगर्ने संविधानसभा पनि छाड्न हुन्न भन्ने माओवादीको द्वैध चरित्रले शान्ति प्रक्रियाको भविष्यमाथि प्रश्न चिह्न तेर्सिएको छ ।’ पटक पटक संविधानसभाको म्याद थप गरिएको प्रति आफूलाई असहजिलो भएको उनले बताए । तोकिएको अवधिमा संविधान बनाउन नसकेमा सर्वोच्च अदालतले संविधानसभा सम्बन्धी गरेको फैसलाको मर्ममाथि पनि आघात भएको उनको दाबी छ ।
माओवादीले तत्कालीन अवस्थामा बहुदलीय व्यवस्थालाई सिध्याउन खोज्दै सरकारविरोधी अभियानमा लागेको स्मरण गर्दै नेता देउवाले आफूहरुको विशेष पहलमा उसलाई शान्ति प्रक्रियामा ल्याएको उल्लेख गरे । अहिलेको अवस्था त्यति लामो समयसम्ममा अन्यौलपूर्ण रहन नसक्ने बताउँदै उनले आगामी जेठ १४ भित्रमा कुनै न कुनै हिसाबले निकास आउने विश्वास व्यक्त गरे ।
२०५२ सालमा आफू प्रधामन्त्री भएको बेला ४० सूत्रीय माग राखेको स्मरण गर्दै देउवाले अहिले माओवादी नेताहरु पटक पटक प्रधानमन्त्री भए पनि तिनै मागहरु पूरा गर्न नसकेको बताए । ‘यति ठूलो परिवर्तन भएको छ, तर माओवादीले आफैले राखेका माग पूरा गरेका छैनन् । बरु मुलुकमा समस्या थपिएको छ ।’
धेरै वर्षपछि कांग्रेसले आयोजना गरेको आमसभाका कांग्रेस नेता डा रामशरण महतले शान्ति प्रक्रियालाई सही रुपमा निष्कर्षमा पुर्याउन माओवादीले मात्र भनेको मान्न नसकिने बताए । सेना समायोजन विशेष समिति सदस्य समेत रहेका पूर्व अर्थमन्त्री महतले सेना समायोजन गर्दा माओवादीले ब्रिगेडियर जनरल मागे पनि दिन असम्भव भएको बताए । ‘पैसा पनि माग्ने पद पनि माग्ने सबै कुरा उनीहरुले नै भनेको मानिदैन ।’ निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका उनले भने, ‘शान्ति प्रक्रियामा सहमति एउटा गर्ने माग अर्कै गर्ने माओवादीको द्वैध चरित्र हो ।’ सेना समायोजन प्रक्रियामा माओवादीले मिडिया र जनमानसमा बेग्लै विषय सार्वजनिक गरेको उनले बताए ।
२०५२ अघि रोल्पा कांग्रेसको गढ मानिएको भए पनि यहींबाट माओवादी सशस्त्र युद्ध सुरु हुँदा कैयौं कांग्रेस कार्यकर्ता मारिएको यहाँका कार्यकर्ताको गुनासो छ । ‘फरक मत राखेकै कारण धेरै कार्यकर्ताले ज्यान गुमाएका छन्, अब त्यस्तो हुन दिन्नौं ।’ सभामा जिल्लाको पार्टीको अवस्था उल्लेख गर्दै कांग्रेस जिल्ला सभापति कृष्णबहादुर घर्तीमगरले भने, ‘यहाँ जबरजस्ती बल प्रयोग गरेर पार्टी अस्तित्वलाई ध्वंश पार्न खोजियो ।’
लामो समयसम्म कार्यकर्ताहरु जोखिम मोलेर आफ्नो अस्तित्व जोगाउन सफल भएको बताउँदै नेताहरुले अब भने कुनै अप्ठ्यारो नमानी राजनीतिमा लाग्नुपर्ने बताए । कार्यक्रममा सहभागी हुन गाउँ गाउँबाट कार्यकर्ता आएका थिए । बसमा आएका कार्यकर्ताले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर प्रगतिमा लाग्न नाराबाजी गरेका थिए । नेताहरु डा प्रकाशशरण महत, बालकृष्ण खाण, पुष्पा भुसाल, मीन विश्वकर्मा लगायतले शान्ति प्रक्रियालाई सही दिशामा लाग्न सबै पार्टीको सहमति भएको औंल्याए ।



