माओवादीले शान्ति प्रक्रिया पूरा नगरेसम्म संविधान लेख्न कार्य अगाडि बढ्न नसक्ने कांग्रेस रामचन्द्र पौडेलको भनाई

– जितेन्द्र खड्गा

 

राजविराज – कांग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले शान्ति प्रक्रिया पूरा नगरेसम्म संविधान लेख्न कार्य अगाडि बढ्न नसक्ने बताएका छन् ।

सप्तरीको नर्घोमा आयोजित ४ नम्बर क्षेत्रीय सभालाई सम्बोधन गर्दै उपसभापति पौडेलले बन्दुकको भरमा सत्ता कब्जा गर्ने मोह माओवादीमा कायमै रहेकाले हतियारबाट अलग नभएसम्म माओवादीलाई विश्वास गर्न नसक्ने बताए ।

शान्ति प्रक्रिया, संविधान लेख्न, सहमतीय सरकार लगायतका विषय सम्मिलित भएको सात बुंदै सहमतिलाई कार्यान्वयन गर्न माओवादी आनाकानी गरिरहेको आरोप पौडेलको गियो ।

सात बुंदै सहमतिको अक्षरश पालना गर्न माओवादीलाई आग्रह गर्दछु, पौडेलले भने, सहमति गर्ने र त्यसबाट पछि हट्ने चरित्र माओवादीले त्याग्नै पर्छ । माओवादीले लोकतन्त्र चाहँदैन, उनले भने, माओवादीले लोकतन्त्री नचाहेकै कारण शान्ति प्रक्रिया र संविधान लेख्नको काम अडकिएको छ ।

माओवादीभित्र बन्दुकको मोह कायमै रहेको भन्दै पौडेलले बन्दुककै बलमा सत्ता कब्जा गर्ने सपना माओवादीले त्यागी दिए हुन्छ, उनले आक्रोशित मुद्रामा भने । शान्ति प्रक्रिया पूरा गर्न नसके वर्तमान सरकारको औचित्य समाप्त हुने भन्दै पौडेलले सत्तामा बसिराख्ने र मुलुकलाई दलदलमा फंसाउन माओवादीले नपाउने जिकिर गरे ।

कांग्रेस मधेसलाई कहिले पनि उपेक्षा नगरेको भन्दै मधेसबाटै जन्मेको पार्टी कांग्रेस भएको बताए । तर, मधेसी दलहरुले भनेजस्तो समग्र मधेस एक प्रदेश किमार्थ पनि कांग्रेसलाई स्वीकार नहुने उनले प्रष्टाए । उपसभापति पौडेलले भने, हिमाल, पहाड, तराई मिलाएरै प्रदेशको निर्माण हुनुपर्छ, यसमा कांग्रेस दृढ छ ।

सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु रामकुमार चौधरी, कविता सरदार, सभासदहरु लिला सुब्बा, प्रमिला राई, बिना पौडेल, कांग्रेस सप्तरीका सभापति दिनेश यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।