महोत्तरी र रोल्पामा आज भएका दुई दुर्घटनामा पांच जनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास क्षेत्रमा जन्ती बस दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ५० जना घाइते भएका छन् । सिन्धुलीको माडीवाट जन्ती लिएर महोत्तरीको पिपरातर्फ जांदै गरेको ना३ख ७११२ नम्बरको जन्ती बस गौरीबास गाविस वडा नं ३ को पाटुमा दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ । मृतक मध्ये महोत्तरीका राभरोसा पण्डित र दिनेश पण्डितको सनाखत भएको छ भने अर्का एक जनाको सनाखत हुन सकेको छैन ।
घाइतेमध्ये ३५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जन्तीले खचाखच भरिएको जन्ती बस अनियन्त्रित भई सडकवाट करिब ५० मिटर तल खसेको थियो ।
रोल्पाबाट काठमाण्डौं आंउदै गरेको लु १ ख ६१५९ न को हाइस जिप प्यूठानको ढुंगेगढीको बिशेदीखोलामा पल्टिंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
रोल्पाका राजु पुनको घटनास्थलमै र एक जना नाम नखुलेकाको उपचारको लागि दाङको भालुबाङ लाइफ केयर अस्पताल तर्फ लग्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि भालुबाङ लगिएको जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर बिकले बताए ।