स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीद्धारा जेठ १४ अघि स्थानीय निकायको निर्वाचन गर्ने सम्भावना नरहेको उल्लेख

पर्वत  – स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले जेठ १४ अघि स्थानीय निकायको निर्वाचन गर्ने सम्भावना नरहेको बताएका छन्।

 

उनले अहिले स्थानीय निकायको निर्वाचनमा लाग्दा शान्ति र संविधानको काम प्रभावित हुने भएकाले नयाँ संविधान जारी भएपछि तुरुन्तै स्थानीय निकायको निर्वाचनको तयारी गरिनुपर्ने बताए।

 

नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले जेठ १४ मा नयाँ संविधान जारी नगर्दासम्म स्थानीय निकायको निर्वाचन सम्भव नभएको बताएका हुन्।


उनले स्थानीय निकायमा दलीय संयन्त्र खारेज भएपछि त्यसको विकल्पका बारेमा मन्त्रालयले तयारी गरिरहेको र छिट्टै वैधानिक र कानुनी प्रक्रिया मिलाएर नयाँ संयन्त्र निर्माण हुने जानकारी पनि दिए।


अर्को एक प्रसङ्गमा मन्त्री रायमाझीले वर्तमान सरकारको विकल्पको खोजी हुन नसक्ने र प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने बताए। रासस