बहिर्गमनमा परेका माओवादी लडाकुहरुद्धारा अनिश्चितकालीन बन्द स्थगित

– रोहित राई, नागरिक

 

धरान –  बहिर्गमनमा परेका माओवादी लडाकुहरुले अनिश्चितकालीन बन्द स्थगित गरेका छन्। उद्योग वाणिज्य संघ, सुनसरी, नागरिक समाज र यातायात व्यवसायीहरुको विशेष आग्रहमा पूर्व लडाकुहरुले मंगलबार साँझदेखि बन्द स्थगित गरेका हुन्।

पूर्वलडाकुहरुले बन्द फिर्ता लिएको घोषणा गरेलगत्तै साँझदेखि यातायातका साधन सुचारु भएको छ। बन्दले आम जनताको दैनिक जनजीवन कष्टकर बन्दै गएपछि व्यावसायी तथा नागरिक समाजले खुलाउनको लागि पहल गरेको थियो।


मंगलबार धरानमा भएको वार्तामा उद्योग वाणिज्य संघ, नागरिक समाजले आन्दोलिन लडाकुहरुको माग पूरा गराउन क्षेत्रीय प्रशासन कार्यालयमाफर्त पहल गर्ने सहमति भएपछि बन्द स्थगित गरेको जनमुक्ति सेना संघर्ष समितिले जनाएको छ।


उद्योगी व्यवसायीका साथै नागरिक समाजले बिशेष आग्रह गरेकोले आन्दोलनको स्वरुप फेर्न आफुहरु सहमत भएको संर्घष समितिका पूर्वाञ्चल क्षेत्रीय सदस्य सरोज थापाले बताए। ‘हाम्रो आन्दोलन दल र सरकार केन्द्रीत थियो, तर जनतालाई पनि समस्या हुनेभएकोले स्वरुप परिवर्तन गर्न सहमत भयौ र आजै देखि बन्द स्थगित भएको छ’-उनले भने-‘अब भने हामी जनतालाई असर नपर्ने गरि दलका नेता र सरकारलाई अप्ठ्यारो पार्न आन्दोलन गर्नेछौं।’

अनमिनले अयोग्य ठहर्‍याएर शिविरबाट बहिर्गमनमा परेका पूर्व लडाकुहरुले अयोग्यको बिल्ला खारेज गर्नुपर्ने, जनमुक्ति सेना सरह आर्थिक प्याकेज दिनुपर्ने, शिविरबाट घर फर्किएपछि झुट्टा मुद्दा लगाइएकाहरुलाई रिहा गर्नुपर्ने र पुर्नस्थापनाको नाममा शान्ति कोषबाट खर्च भएको हिसाबकिताब सार्वजनिक गरिनुपर्ने माग गदै आन्दोलन गरिरहेका छन्। पछिल्लो पटक उनीहरुले फागुन २१ गतेदेखि अनिश्चितकालीन यातायात, बजार बन्द आह्वान गरेका थिए। बन्दले जनजीवन कष्टकर बन्दै गइरहेको थियो।

झापा: लडाकुहरुले साँझ मात्रै बन्द फिर्ताको घोषणा गरे पनि त्यहाँका बजारहरु भने मंगलबार बिहानैदेखि खुलेका थिए। दुई दिनसम्म ठप्प रहेका सवारी साधन र कलकारखाना पनि फाटफुट खुलेका थिए। अपरान्हदेखि भने यातायातका साधनहरु सडकमा बाक्लै गरी चलेका थिए।






दुई दिनमा ७ वटा सवारी तोडफोड





कलेन्द्र सेजुवाल, सुर्खेत, फागुन २३- बहिर्गमनमा परेका माओवादी लडाकुहरुले आह्वान गरेको बन्दको दोस्रो दिन सोमबार दिउँसो सुर्खेत प्रहरीले ४६ वटा सवारी साधनलाई स्कर्टिङ गरेर गन्तव्यमा पठाएको छ। सई राजेश मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्कर्टिङ गरेर सवारी साधन रत्न राजमार्गको बबईसम्म पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दराम परियारले जानकारी दिए।
बन्दको क्रममा सुर्खेतमा आधा दर्जन सवारी साधन तोडफोड भएका छन्। लडाकुहरुले सोमबार एउटा बलेरो जीपसहित पाँचवटा मोटरसाइकल र मंगलबार थप एक मोटरसाइकल तोडफोड गरेका प्रहरीले जनाएको छ।
लडाकुहरुले मंगलबार दिउँसो रत्नराजमार्गको पदमपुरमा भे१प ९६२६ नम्बरको मोटरसाइकल तोडफोड भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सोमबार साँझ रत्न राजमार्गको बबई नजिकै प्रहरीका अनुसार सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको ग१च ४२५५ नम्बरको जीपमा तोडफोड गरिएको छ। त्यस्तै, लडाकुहरुले बबईमै पाँचवटा मोटरसाइकल तोडफोड गरिएका प्रहरीले जनाएको छ।