काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौंले होलीमा सुरक्षा व्यवस्था कडा बनाउन दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। पर्वको बहानामा हुने उच्छृंखल गतिविधि नियन्त्रण गर्न तीन सय सादा पोसाकका प्रहरीसमेत परिचालन गरिने परिसरका प्रवक्ता धिरजप्रताप सिंहले बताए।
सिंहका अनुसार सुरक्षा दृष्टिले संवेदनशील मानिएका कलंकी, सिंहदरबार, सुकेधारा, कोटेश्वर लगायत १६ ठाउँमा प्रहरी निरीक्षकको कमान्डमा चेक प्वाइन्ट राखिने छ।
होलीको बेला जबर्जस्ती रङ दल्ने र लोला हान्नेलाई नियन्त्रणमा लिन सईको कमान्डमा अनुगमन तथा निगरानी टोली खटाइएको सिंहले बताए।
परिसरका अनुसार होलीमा जबर्जस्ती लोला हान्ने र रङ दल्नेलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गरिने छ। प्रहरीले मंगलबार मात्र पानी फोहरा फाली सर्वसाधारणलाई हैरानी दिएको भन्दै १ सय ४३ जनालाई पक्राउ गरेको थियो। सोमबार स्कुल तथा कलेजका छात्रालाई लोला हान्ने र रङ छर्कने कार्यमा संलग्न ५३ जना पक्राउ परेका थिए।



