बिना भिसा काठमाडौंबाट उडेका उड्डयन मन्त्री थुनामुक्त हुँदै जर्मनीको बर्लिनमा, नेपालमा भने उच्चस्तरीय छानबिन समिति गठन


काठमाडौं – सरकारले पयर्टन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगर बिना भिसा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यायगमन पार गरेको विषयमा तीन जना सचिव सम्मिलित उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

मन्त्रिपरिषद् कार्यालयका सचिव लिलामणि पौडेलको संयोजकत्वमा बुधबार गठित समितिमा गृहसचिव सुशिलजंग राणा, परराष्ट्र सचिव दुर्गा भट्टराई र एक जना उपन्यायधिवक्ता रहेका छन्।


छानबिन समिति गठनपछि अध्यागमन विभागले विमानस्थलमा मन्त्रीको राहदानीमा प्रस्थान छाप लगाउने एकजना नायब सुब्बालाई ‘जिम्मेवारीबाट हटाएको’ छ। त्यसैगरी अन्य केही जनासँग स्पष्टीकरण लिएको छ।


‘मन्त्रीज्यूको राहदानी जाँच नगरी डिपार्चर स्टिकर टाँस्ने नायब सुब्बा होमप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख वीरवहादुर राईले  भने, ‘छानबिन समिति गठन भएकोले उनलाई यो अवधिभर जिम्मेवारी नदिने निर्णय गरेका हौं।’


बिना भिसा काठमाडौंबाट जर्मनी जाने क्रममा मन्त्री मगर मंगलबार युनाईटेड अरब इमिरेट्स (युएई)को आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलको अध्यायगमनले पक्राउ गरी चार घण्टा हिरासतमा लिएको थियो। उनको राहदानीमा भिसा भए/नभएको जाँचै नगरी त्रिभुवन विमानस्थलका अध्यागमन कर्मचारीले ‘डिपार्चर’ भएको स्टिकर र छाप हानिदिएका थिए।


पक्राउ परेपछि आबुधाबीस्थित नेपाली दुताबासको पहल र काठमाडौंस्थित जर्मन दुताबासको सहयोगमा उनले बुधबार भिसा पाउन सकेका थिए। उनी बिहीबार बिहान बल्ल जर्मनीतर्फ प्रस्थान गरेका  थिए भने अहिले उनी बर्लिनमा पुगी सकेका छन।


‘मन्त्रीज्यूको भिसा प्रक्रिया सकिएको छ। बुधबार उहाँको राहदानीमा आबुधाबीस्थित जर्मन दूतावासले भिसा लगाईदिएको छ,’ परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले भने, ‘स्थानीय समयअनुसार बिहीबार बिहान २ बजे उहाँ आबुधाबीबाट जर्मनीतर्फ उड्नु हुनेछ।’


मन्त्री मगरले परराष्ट्रबाट भिसा नोट लिएपछि त्यसैलाई भिसा मानेर सोमबार श्रीमतीसहित काठमाडौंबाट उडेका थिए। स्रोतका अनुसार मन्त्री मगरकी श्रीमतीले भिसाको लागि पहिलो पटक प्रयास गर्दा जर्मन दूतावासले भिसा दिन अस्वीकार गरेको थियो।


नेपाल पयर्टन बोर्डले अनुरोध गरेपछि दोस्रो पटकको प्रयासमा मात्र जर्मनीले उनकी श्रीमतीलाई भिसा दिएको स्रोतले दाबी गर्‍यो। – नागरिक

 

जर्मनी जानका लागि भीसा नभएर समस्यामा परेका पर्यटन तथा नागरिक उड्डयन लोकेन्द्र विष्टले दुई दिनपछि भीसा पाए

 

अबुधाबी – जर्मनी जानका लागि भीसा नभएर समस्यामा परेका पर्यटन तथा नागरिक उड्डयन लोकेन्द्र विष्टले दुई दिनपछि बुधबार भीसा पाएका छन् । उनलाई संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीस्थित जर्मनी दुतावासले स्थानीय समयअनुसार मध्याह्न भीसा दिएको हो ।

 

जर्मनीमा आयोजित पर्यटनसम्बन्धी कार्यक्रममा भाग लिन हिँडेका विष्टको पासपोर्टमा भीसा नभएपछि युएईको अवुधावी अन्तर्राष्ट्रिय विमानस्थको अध्यागमनले उनलाई सोमबार रातिदेखि उडान अनुमति दिएको थिएन ।

 

अबुधाबीमा रहेको नेपाली दूतावासले मन्त्री विष्टको भीसाको लागि आवेदन गरेपछि उनले भीसा पाएका हुन् । ‘जर्मनी दुतावासको हार्दिक सहयोगमा भीसा भइसक्यो’ युएईका लागि कार्यबहाक राजुदत दीपक अधिकारीले भने, ‘भीसा लगत्तै उहाँको हवाई टीकट पनि भइसकेको छ ।’ मन्त्री श्रीमतीसहित बिहीबार उज्यालो नहुँदै बिहान २ बजे अबुधाबीबाट जर्मनीको लागि उड्दै छन् । उनी श्रीमतीसहित नेपाली दुतावासको निवासमा छन् । उनको श्रीमतीको भने पहिले नै काठमाडौंस्थित जर्मनी दुतावासबाट भीसा लगाइसकेको छ ।