नेपाली कांग्रेसद्धारा माओवादीविरुद्ध अभियानको थालनी

विश्वमणि पोखरेल, नागरिक

 

इटहरी – शान्ति प्रक्रिया, संघीयता र क्षेत्रीय राजनीतिको बहसलाई क्षेत्र र जिल्ला स्तरसम्म लैजाने नेपाली कांग्रेसको अभियान मंगलबार पूर्वको इटहरीमा थालनी भएको छ।


केन्द्रीय नेताका औपचारिक भनाइमा कांग्रेस आफ्ना कार्यकर्ताको मनोभाव बुझ्दै पार्टीले केन्द्रमा लिएका अडान र नीतिलाई स्थानीय तहबाट अनुमोदन गर्न चाहिरहेको छ।


‘आपसमा छलफल गरौं, विचार आदानप्रदान गरौं, यसबाट नीति निर्माणमा केन्द्रलाई सहयोग हुन्छ,’ सभापति सुशील कोइराला उद्घाटन सत्रमा भन्दै थिए, ‘केन्द्रले थोपरेको भन्ने नपरोस्।’


कोइरालाको भनाइमा कांग्रेस पार्टीको स्थानीय तहसम्म आफ्ना नीति प्रसारण गर्न चाहन्छ। प्रशिक्षण प्रतिष्ठान समितिका सभापति एवं पार्टी उपसभापति रामचन्द्र पौडेल पनि आफूहरू कार्यकर्ताको कुरा सुन्न आएको दाबी गर्दै थिए।
‘हामी तपाईंहरूका कुरा सुन्न आएका हौं,’ उनले भने, ‘यसले पार्टीको आगामी नीति बनाउन सहयोग गर्छ।’

संविधानसभाको म्याद अढाई महिनामात्र बाँकी छँदा कांग्रेसले थालेको प्रशिक्षणको अन्तर्निहित उद्देश्य भने प्रशिक्षणमा सीमित देखिँदैन। खासमा आफ्ना कार्यकर्तालाई माओवादीविरुद्ध जुझारु पार्ने र कांग्रेसका पक्षमा जनमत बनाउने उद्देश्य प्रेरित छ।


नेताहरूका अभिव्यक्ति, प्रशिक्षणमा प्रस्तुत कार्यपत्र र प्रस्तुतिले कांग्रेस मुलतः माओवादी केन्द्रित राजनीमिा होमिएको देखिँदैछ। ‘माओवादी इमानदार देखिएको छैन,’ प्रशिक्षणको बन्द सत्रमा महामन्त्री कृष्ण सिटौला भन्दै थिए, ‘अब नयाँ जनमत निर्माणको आवश्यकता छ।’


सिटौलाले मुलुकभरि जिल्ला र क्षेत्रीय स्तरका कार्यक्रम गरेर जनमत बनाउने र चैतको अन्तिम साता राजधानीमा विशाल आमसभा गरी शक्ति प्रदर्शनको उद्देश्यसमेत सार्वजनिक गरे।


सेनामा माओवादी लडाकु समायोजनको मुद्दा पेचिलो बनेको विवरण पनि प्रशिक्षणका वक्ताहरूले दिए। दलहरूबीच सातबुँदे सहमति हुँदा, माओवादीका मोहन वैद्य र रामबहादुर थापाले फरक मत राखेको राजनीतिक सन्दर्भ सिटौलाले उप्काए।


‘अहिले उनीहरूमा एकता देखिएको छ,’ उनले भने, ‘प्रचण्ड (पुष्पकमल दाहाल) फेरि वैद्यलाई च्यापेर हिँड्न थालेका छन्।’ माओवादीभित्र देखिएको पछिल्लो समीकरणले शान्ति प्रक्रिया भाँडिने विश्लेषण गर्दै सिटौलाले माओवादीलाई तह लगाउन जनमतै प्रमुख अस्त्र हुने धारणा पनि राखे।


सेना समायोजन विशेष समितिका सदस्य मीनेन्द्र रिजालको प्रस्तुति पनि माओवादीविरुद्ध केन्द्रित थियो। ‘शान्ति प्रक्रियाका सम्बन्धमा नेपाली कांग्रेस’ शीर्षक रिजालको कार्यपत्रमा शान्ति प्रक्रियामा अहिलेसम्मको यात्रामा मूलतः माओवादीलाई दोष देखाइएको छ।

माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने मुद्दा माओवादीकै कारण अल्भि्कएको उनको भनाइ छ। ‘माओवादी राष्ट्रिय सेनालाई माओवादीकरण गर्न उद्यत छ। नेपाली सेनालाई माओवादी बनाउने कि माओवादी लडाकुलाई नेपाली सेनाको अनुशासनभित्र ल्याउने? समस्याको मुख्य कडी यही हो।’


नेपाली सेनालाई राजनीतिबाट मुक्त राख्नुपर्ने आवश्यकता उनले औंल्याए। ‘हामीलाई राजनीतिमा बसेर राष्ट्रिय सेनाजस्तो संस्थामा खेलवाड गर्ने अधिकार कसले दियो?’ माओवादी लडाकुको पैसा पार्टी आफैंले लिएको सन्दर्भमा रिजालको तीखो टिप्पणी थियो, ‘सारा देश लुट्यो, हिजो देश लुट्न प्रयोग गरेकाहरूको पैसा आफैंले लुट्यो।’

पार्टी उपसभापति रामचन्द्र पौडेल पनि माओवादीविरुद्धै खनिए। उनले राजनीतिक समस्याको फेहरिस्त नै कार्यकर्तामाझ राखे। ‘कम्युनिस्टहरू समस्या पैदा गर्न सक्छन्,’ पौडेलले भने, ‘समाधान दिन सक्दैनन्।’

‘राज्य पुनर्संरचना/संघीयताका सम्बन्धमा नेपाली कांग्रेस’ शीर्षक कार्यपत्रमा केन्द्रीय सदस्य गगन थापाको आरोप पनि माओवादीमै केन्द्रित थियो। अन्य दलले भनेजस्तो कांग्रेस संघीयताविरोधी नभएको उनको भनाइ रह्यो।


‘माओवादी र एमाले मिलेर राज्य पुनर्संरचना समितिमा जालझेल गरेर मुलुकलाई १४ प्रदेशमा विभाजन गरे,’ थापाले भित्री जानकारी सुनाए, ‘कांग्रेसलाई रक्षात्मक अवस्थामा पुर्‍याइएको छ, त्यस्तो होइन।’

त्यसो त प्रशिक्षण कार्यक्रमको थालनीमै पार्टीभित्र एकताको अभाव स्पष्ट भयो। वरिष्ठ नेता शेरबहादुर देउवा नै आइदिएनन्। त्यसले एकसाथ धेरै प्रश्न उठे।


कार्यक्रममा सभापति सुशील, उपसभापति पौडेल र केन्द्रीय सदस्य सुजाता कोइरालाले अनुशासनको प्रसंग उठाएर त्यसैलाई संकेत गरेका पनि हुन सक्छन्। पौडेलको संयोजकत्वमा गठित २५ सदस्यीय केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमा उनी निकटकै हालिमुहाली रहेको टिप्पणी पनि सुनिएको छ। प्रतिष्ठानमा २० सदस्य मनोनीत छन्।

भातृ संस्था विघटनलाई लिएर देउवा केन्द्रीय सदस्यबाट राजीनामा दिएर बसेको अवस्थामा हतार हतारमा प्रतिष्ठान गठन गरेको आरोप पौडेलमाथि लाग्दै आएको छ। ‘माओवादी सर्वसत्तावादविरुद्ध जनदबाब सिर्जना गर्ने’ अभियानमा लागेको कांग्रेस आफैंभित्र विभाजित भएर प्रस्तुत हुनुले आशातीत परिणाम नदिन सक्छ।