पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रियाको नाममा जनयुद्धमा योगदान गरेका पूर्णकालीन कार्यकर्तालाई बेवास्ता गरेकाले आन्दोलन सुरु गरेको जनाइएको छ । आन्दोलन एमाले र कांग्रेस नेतृत्वविरुद्ध नभई आफ्नै पार्टी नेतृत्वलाई सच्चिनका लागि भएको माओवादी लिम्बुवान राज्य समिति सदस्य सञ्जिव रायमाझीले बताए । ‘पार्टी नेतृत्वले करोडौँ मूल्य पर्ने घर र खाटमा सुत्ने,’ रायमाझीले थपे, ‘कार्यकर्ता आज के खाउँ, भोलि के खाउँ भन्ने अवस्थामा छन्, खै ध्यान दिएको नेतृत्वले ?,’ उनले आन्दोलनको विकल्प नभएको बताए ।
वाईसीएल र बहिर्गमनमा परेका लडाकुले उचित व्यवस्थापनका लागि आन्दोलन गरिरहेका बेला माओवादी पूर्णकालीन कार्यकर्ताले खान, बस्नका लागि व्यवस्थापन गर्दै आए पनि पछिल्लो समयमा समस्या पर्दै आएको भन्दै आक्रोश पोखे । ‘यसअघि चन्दा र सहयोग उठाएर कार्यकर्ताको सामूहिक व्यवस्थापन गरियो,’ लिम्बुवान राज्य समिति सचिवालय सदस्य कृष्ण लम्सालले भने, ‘पछिल्लो समयमा कार्यकर्ता बिचल्लीमा परेका छौं, खान बस्न धौ धौ छ ।’ जनयुद्ध क्रममा अंगभंग भएका, पढाइ छाडेका र परिवारको सदस्य गुमाएका कार्यकर्ता बिचल्लीमा परेको पत्रकार सम्मेलनमा उनीहरूले बताए ।
जिल्लामा करिब ६० जना पूर्णकालीन कार्यकर्ता छन् । ती कार्यकर्ताका विषयमा खरीपाटी, पालुङटारलगायत भेलामा उचित व्यवस्थापन गर्ने भन्दै नेतृत्वले कुरा टारिरहेकाले निणर्ायक आन्दोलन सुरु गरेको लिम्बुवान राज्य समिति सचिवालय सदस्य सन्देश क्षेत्रीले जानकारी दिए ।



