संघीयताको बिरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाद्धारा सुदूरपश्चिम बन्द

– मोहन शाही

 

डोटी  –  संघीयताको बिरोध गर्दै राष्ट्रिय जनमोर्चाले शुक्रबार सुदूरपश्चिम बन्द गरेको छ । बन्दका कारण यात्रुहरु अलपत्र परेका छन् भने कार्यालय तथा बिद्यालय जाने कर्मचारी बिद्यार्थीहरु प्रभावीत भएका छन् ।

संघीयताको बिरोध संगै स्थानीय निकायको निर्वाचन र समयमै संबिधान निर्माण नभए देशभर आन्दोलन चर्काउने राष्ट्रिय जनमोर्चाका डोटी अध्यक्ष बेणीमाधव जोशीले बताए ।

बन्दले सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी, अछाम लगायतका जिल्लाहरुमा सवारी साधन चल्न नपाएको क्षेत्रीय प्रशासन कार्यालय दिपायलले जनाएको छ ।

बिहानैबाट राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु नाराबाजी गर्दै सडकमा उत्रेका छन् । बजार बन्द भएपछि जनजीवन कष्टकर बनेको छ ।