स्थानीय बिकास मन्त्री टोपबहादुर रायमाझीद्धारा जेठ १४ भित्र स्थानीय निकायको निर्वाचन सम्भव नभएको भनाई

– लालप्रसाद शर्मा

 

पोखरा – स्थानीय बिकास मन्त्री टोपबहादुर रायमाझीले जेठ १४ भित्र स्थानीय निकायको निर्वाचन सम्भव नभएको बताएका छन् ।

अहिले निर्वाचनमा जाँदा शान्ति र संविधानको काम प्रभावित हुने भएकाले निर्वाचन असम्भव भएको उनले बताएका हुन् । ‘निर्वाचन घोषणा गरिए राजनैतिक दल र नेताहरु शान्ति र संविधानको काम छाडेर निर्वाचनमा केन्दि्रत हुन्छन्’, पोखरामा स्वर्गीय जगन्नाथ सिग्देल स्मुति हिमदुत पत्रकारिता पुरस्कार- २०६८ वितरण गर्दै रायमाझीले भने, ‘जेठ १४ पछि भने तत्काल निर्वाचन आवश्यक हुन्छ ।’

माओवादी स्थायी समिति सदस्यसमेत रहेका रायमाझीले एक डेढ हप्तामै सेना समायोजनको काम टुंगिने बताए । त्यसपछि संविधान निर्माणको कामले तीब्रता पाउने र जेठ १४ मै संविधान घोषणा हुने उनले दावी गरे ।

मन्त्री रायमाझीले अहिले राजनैतिक दल बीच र दलभित्रै झगडा रहेको बताउँदै झगडाले नै शान्ति र संविधानको कामलाई पुर्णता दिने बताए । ‘दलहरु र दलबीचको झगडालाई नकरात्मक नसोंची शुभसंकेतका रुपमा लिनुपर्ने उनको भनाई थियो ।

पोखराका प्रथम पत्रकार स्वर्गीय जगन्नाथ सिंग्देलका परिवारबाट स्थापित पुरस्कारबाट युवा पत्रकार बिभु भुसाल सम्मानित भएका हुन् ।