
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समान्य प्रशासन मन्त्रालयले गत महिना गरेको कर्मचारी सरुवाको कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आज विज्ञप्ति जारी गरी निजामती कर्मचारी ऐन विपरित र सामान्य सिद्धान्तको समेत ख्याल नगरी कर्मचारीको सरुवा गरिएको भन्दै माघमा गरिएको सबै सरुवा बदर गर्न निर्देशन दिएको हो ।
सरुवा गर्ने क्रममा नियमावली उल्लंघन भएको उजुरी आयोगमा परेपछि छानबिन गर्दा सरुवामा लापरबाही पाइएको आयोगले जनाएको छ ।
सरुवाका लागि पुग्नुपर्ने सेवा अवधि नपुगेको, सुगमबाट सुगममै सरुवा गरिएको, मन्त्रालयमा विशेषज्ञता नै समाप्त हुने गरी सरुवा गरिएको, बजेट कारोबार हुने स्थानमा मात्र सरुवाको चाप देखिएको र कतिपय कार्यलयलाई शून्य पार्ने र कतिपयमा आवश्यक भन्दा बढी कर्मचारी सरुवा गरिएको पाईएको समेत आयोगले जनाएको छ ।
आयोगले अबदेखि कर्मचारी सरुवा गर्दा नियमावली अनुसार मात्र गर्न समेत सचेत गराएको छ । सरुवा निर्णय विरुद्ध कर्मचारी संघ संगठनहरु आन्दोलनमा उत्रिएका थिए ।