– ध्रुव दंगाल,
सिन्धुपाल्चोक – एमाले उपाध्यक्ष बामदेव गौतमले बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट नहटाएसम्म शान्ति प्रक्रिया नटुंगिने र संविधान पनि नबन्ने दाबी गरेका छन्। सरकारलाई जेठ १४ गतेसम्म लैजाने र शान्ति प्रक्रिया निष्कर्षमा नपुगेको बाहानामा निरंकुशता लाद्ने दाउमा माओवादी रहेको उनले बताए।
सरकारबाट नहटेसम्म शान्ति र संविधान आउन सक्दैन,’ नेकपा एमालेको ३ नं. क्षेत्रीय दोस्रो अधिवेशनलाई शनिबार मेलम्चीमा सम्बोधन गर्दै उनले भने। शान्ति र संविधान नटुंगिनुमा माओवादी दोषी रहेको उनले आरोप लगाए। राष्ट्रिय सहमति वेगर नेपालको राजनीति अघि बढ्न नसक्ने ठोकुवा गर्दै गौतमले सबै दल मिले मात्र शान्ति र संविधान सम्भव हुने धारणा राखे। शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड दिँदै उनले भने, ‘यो एमालेको तागतले मात्र पनि सम्भव छैन।’
बाबुरामको राजिनामापछि मात्र राष्ट्रिय सहमति बन्ने औंल्याउँदै उनले थपे, ‘यो माओवादी नेतृत्वमा मात्र हुन्छ भन्ने छैन।’ विगतमा जस्तै राष्ट्रिय सहमतिको सरकार नभएकाले बाबुराम सरकारले पनि संविधान निर्माण गर्न नसक्ने उनको भनाइ छ। सरकारले पैसाको दुरुपयोग गरेर लडाकुको नाममा अरवौं भष्टचार गरेको आरोपसमेत लगाए। कांग्रेस असफल संसदीय व्यवस्था घिच्याउँदै हिंडेको भन्दै उनले यसले कांग्रेसलाई असफल बनाउने जिकिर गरे।
विगतमा माओवादीप्रति नरम मानिने नेता गौतम यसपटक भने आक्रमक रुपमा प्रस्तुत भए। उनले जनविद्रोहमा गए माओवादी समाप्त हुने चेतावनी दिए। कार्यक्रममा पोलिटब्युरो सदस्य पशुपति चैलागाईं, वैकल्पिक पोलिटव्युरो सदस्य अरुण नेपाल लगायत नेताले लोकतन्त्र विनाको गणतन्त्र एमालेलाई स्विकार्य नहुने धारणा राखेका थिए।