बढुवाको विषयमा विवाद भएपछि १० एसएसपीको दरबन्दी थप गर्ने तयारी

काठमाडौ  – गृहमन्त्री विजयकुमार गच्छदार र प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहबीच एसपी बढुवाको विषयमा विवाद भएपछि १० एसएसपीको दरबन्दी थप गर्ने तयारी भइरहेको छ । प्रहरीका ५ तालिम केन्द्रमा एसएसपीको दरबन्दी राख्ने पत्र गृह हुँदै अर्थ मन्त्रालयमा पुगेको केही दिन नबित्दै प्रहरी मुख्यालयले पुनः ५ जिल्लामा एसएसपी राख्ने प्रस्ताव अघि सारेको छ ।

मुख्यालय स्रोतअनुसार काठमाडौं, ललितपुर, भक्तपुर मोरङ र पर्सा जिल्लामा एसएसपी राख्न लागिएको हो । त्यसका लागि मुख्यालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको स्रोतले बतायो । तालिम केन्द्रबाहेक महानगर र उपमहानगरपालिका भएका क्षेत्रमा एसएसपी राख्ने तयारी गरेको हो । प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले संगठनलाई आवश्यकता भएकाले दरबन्दी माग गरिएको बताए । ‘संगठनको आवश्यकताअनुसार गरिदिएको भए एकैपटक धेरै दरबन्दी चाहिँदैन थियो,’ उनले भने, ‘महानगर र उपमहानगर भएका स्थानमा एसएसपी राख्न लागिएको हो ।’

मोरङ र पर्सामा एसएसपी दरबन्दी राख्दा अञ्चल प्रहरी कार्यालयसँग कुरो नमिल्ने एक अधिकृतले बताए । जिल्ला प्रमुख र अञ्चल प्रमुख एउटै पदको व्यक्ति हुन नसक्ने ती अधिकृतको भनाइ छ । ‘जिल्ला र अञ्चलमा समान दर्जाका व्यक्ति पठाएको भोलिपल्टैदेखि शान्ति सुरक्षामा त्यसको प्रभाव पर्न सुरु हुन्छ,’ ती अधिकृतले भने, ‘व्यक्ति विशेष र आफ्ना मान्छेका लागि यो प्रकारका निर्णय गर्नु गलत हो ।’

मुुख्यालयले अञ्चलमा वरिष्ठ र जिल्लामा कनिष्ठ एसएसपी राख्न लागेको स्रोतको दाबी छ । त्यो सम्भव नभए एसएसपी बसेको जिल्लालाई अञ्चलले नहेरी सोझै क्षेत्रले हेर्ने व्यवस्था गरिन लागेको छ । नेपाल प्रहरीको एसएसपीका ५ पद खाली छन् । – कान्तिपुर