नेविसंघका विद्यार्थीहरुद्धारा कालो झण्डा देखाउँदै प्रधानमन्त्री भट्टराईविरुद्ध नाराबाजी

प्रधानमन्त्री डा.बाबुराम भट्टराईले विश्वविद्यालय शिक्षालाई सर्वसाधारणको पहुँच हुने गरी सर्वसुलभ बनाउनु पर्ने बताउनु भएको छ ।

 

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले आज कीर्तिपुरमा गरेको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले शिक्षालाई व्यापारको वस्तु बनाउँदा उच्चशिक्षामा सर्वसाधारणको पहुँच स्थापित हुन नसक्ने वताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयले शिक्षामा सबैको पहुँचका लागि खुला तथा दूरशिक्षा सिकाइको अवधारणा अघि बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि कार्यक्रम स्थलमा जाँदै गर्दा प्रधानमन्त्री भट्टराईलाई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन दिएको अल्टिमेटम कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यार्थी संघले कीर्तिपुरमै कालो झण्डा देखाएको थियो । नेविसंघ समर्थित विद्यार्थीहरुले कालो झण्डा देखाउँदै प्रधानमन्त्रीविरुद्ध नाराबाजी पनि गरेका थिए । स्ववियू निर्वाचन गराउन ध्यानाकर्षण गराउँदै नेविसंघले केही दिन अघि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

 

आफ्नो मागप्रति सरकारले बेवास्ता गरेको भन्दै नेविसंघले तीन दिनसम्म प्रधानमन्त्री, मन्त्री र त्रिविका उपकुलपतिलाई कालो झण्डा देखाउने निर्णय गरेको छ ।