एमाले माधवकुमार नेपालद्धारा सेना समायोजनमा क्रान्तिकारी कदम चाल्न सके जेठ १४ गते सम्म भट्टराई नेतृत्वको सरकार कायम रहने दाबी



 

– शेखर अधिकारी

 

काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अझै दुई वटा सरकार बन्न सक्ने संकेत गरेका छन् । तत्काल सरकार बदलिने सम्भावना भने नरहेको उनको भनाइ थियो ।

‘दुइटा सरकार बन्छ सक्छन्,’ सोमबार रिपोर्टर्स क्लवको कार्यक्रममा नेपालले भने, ‘संविधान जारी गर्ने र चुनावी सरकार अलग अलग हुन सक्ने सम्भावना पनि उत्तिकै विद्यमान छ ।’ एमाले बरिष्ठ नेता नेपालले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नरहेकाले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामालाई पनि चर्काउने मनशाय नभएको बताए ।

राजनीतिमा असम्भव कुनै कुरा नहुने उल्लेख गदैं नेता नेपालले ‘क्रान्तिकारी’ काम गरे भट्टराईको कार्यकाल लम्बिने बताए । ‘राजनीतिमा असम्भव केही हुन्न,’ उनले भने, ‘बाबुरामजीले पनि शान्ति प्रक्रियामा ल है गजवै गर्‍यो भन्ने क्रान्तिकारी काम गर्नुभयो भने मैले त भनिसकेको छु उहाँलाई तपाईं अघि बढ्नुस् भनेर ।’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले सेना समायोजनमा दरिलो आँट गर्दा पनि प्रधानमन्त्रीले खुट्टा टेक्न नसकेको बताए । ‘तीन दलको बैठकमा प्रचण्डजीले ल सवै मिल्यो, प्रधानमन्त्री अघि बढ्नुस् भन्नुभयो,’ उनले भने, ‘त्यतिभन्दा पनि उहाँको मुहार अँध्यारै थियो, म प्रधानमन्त्री भए फटाफट काम गरेर सकिदिन्थें ।’ प्रधानमन्त्रीले बुँदागतरुपमै कार्ययोजना खोजेको भन्दै उनले भने, ‘नेताले त संकेत पो गर्छ, बाबुरामजीले त बुँदा बुँदा केलाउन थाल्नुभयो ।’

दाहालसहित कांग्रेस, एमाले सहयोगी हुँदा पनि काम गर्न नसकेर प्रधानमन्त्रीले कायरता देखाएको उनले आरोप लगाए । ‘अब उहाँ आँटिलो बन्नुहुन्छ कि कायर हेर्न बाँकी छ,’ उनले भने ।

नेता नेपालले शान्ति प्रक्रिया र संविधान निर्माणमा माओवादीको द्वैध चरित्र बाधक रहेको बताए । ‘उ मानसिक र भौतिकरुपमा द्वन्द्वको तयारीमा छ,’ माओवादीले दुई वटा नाउमा खुट्टा राखेको बताउँदै उनले भने, ‘दुइटा खुट्टा राखेर सागर तर्न सकिँदैन, खोला तर्न सकिँदैन, यीनको बिजोग हुन्छ ।’

माओवादीले संक्रमणकाललाई फाइदाको रुपमा लिएको नेता नेपालको बुझाइ छ । ‘लडाकालाई माओवादीले ‘इजि मनी इन्कम’ स्रोत बनायो, मासिक आउने १६/१७ करोडमा आँखा गाड्यो,’ माओवादीले घोटाला गरेको लडाकुको पैशा राज्यले असुल्नुपर्नेमा जोड दिंदै उनले भने, ‘नेताहरुका टावर बेचेर हुन्छ कि, घर बेचेर हुन्छ कि, स्वदेशमा राखेका छन् कि विदेशमा राखेका छन् कि माटोमुनि राखेका छन् कि, जहाँबाट पनि असुल्नुपर्छ, कालीमाटीमा राखेको भएमात्रै नभए जलेको त पक्कै छैन होला ।’ दुई चार ठग्नेलाई भ्रष्टाचारको कारबाही हुने भन्दै उनले राज्यको ढुकुटी लुट्नेलाई पनि कारबाही हुनुपर्ने बताए ।

जेठ १४ मा प्रक्रिया छोट्याएर संविधान जारी गर्न सकिने नेपालको भनाइ छ । २०४७ सालको संविधान फेरि लागू हुनै नसक्ने ठोकुवा गर्दै उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायतका उपलब्धिभन्दा पछाडि फर्कन नसकिने बताए ।

पूर्व राजालाई पनि जनतासरह बोल्ने अधिकार हुने भन्दै उनले प्रधानमन्त्रीलाई उनीप्रति अनावश्यक शंका नगर्न आग्रह गरे । ‘पूर्व राजको पनि चाहना होला तर बाधा गरेका छैनन् भने उनलाई पनि जनता सरह संविधान प्रदत्त (बोल्ने) अधिकार दिनुपर्छ,’ उनले भने ।

केही नेता माओवादीको लोभमा

नेता नेपालले केही नेताहरुलाई माओवादीले राष्ट्रपति, प्रधानमन्त्रीको सपना बाँडेर लोभमा पारेको बताए । ‘कति नेतालाई माओवादीले कानमा चिनी राखिदिएको छ,’ उनले कांग्रेसप्रति लक्षित गर्दै भने, ‘कानमा चिनी राखेपछि बाहिरबाट बोलेको सुनिँदैन, उहाँहरु पनि त्यस्तै नसुन्ने हुनुभएको छ ।

माओवादीले सवैलाई उधारो आश्वासन दिने गरेको उल्लेख गर्दै उनले आश्वासनमा नफस्न आग्रह गरे ।