– कान्तिपुर
काठमाडौ – सशस्त्र द्वन्द्वका बेला राज्यद्वारा बेपत्ता परिवार समाजले आन्दोलनको घोषणा गरेको छ ।
समाजले सोमबार पत्रकार सम्मेलन गरी विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा बेपत्ता छानबिन गर्ने उल्लेख भए पनि राज्यबाट कुनै वास्ता नगरिएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।
समाजका अध्यक्ष एकराज भण्डारीले भने, ‘हाम्रा आफन्त सार्वजनिक गर्न, बेपत्ताहरूको योगदान संस्थागत गर्न र राज्यले बेपत्ता परिवारको अभिभावकत्व गरी शिक्षा, स्वास्थ्य र रोजगारी दिइयोस् भन्ने हाम्रो माग हो ।
बेपत्ता पार्ने दोषीलाई कारबाही हुनुपर्छ भन्दै आन्दोलन घोषणा गरेको छौं ।’ त्यसअनुसार चैत ८, ९ र १० गते माओवादी, कांग्रेस र एमाले पार्टी कार्यालयमा एक घन्टा धर्ना दिने, वैशाख दोस्रो साता संसद् भवनमा धर्ना दिने र जेठ ७ गते बेपत्ता दिवस मनाउने जनाइएको छ ।