एसएलसीमा चिट चोराउनेलाई १ लाख जरिवाना


काठमाडौ, १ चैत एसएलसी परीक्षालाई मर्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालयले चिट चोराउनेलाई कडा कारबाही गर्ने भएको छ । परीक्षा नियन्त्रक डिल्लीराम रिमालका अनुसार चिट चोरउनेलाई १ लाख जरिवाना तथा ६ महिना कैद वा दुबै हुन सक्ने जानकारी दिए ।



केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक लगायतका कर्मचारीलाई कारवाही गरिने भएको उनले बताउ । त्यस्तै, कर्मचारीलाई विभागीय कारबाही गर्न कार्यालयमा अभिलेख राखी बढुवा समेत रोकिने नियन्त्रक रिमालले बताए । परीक्षामा चिट चोर्ने र चोराउने अभिभावकलाई समेत सार्वजनिक ऐन अन्तर्गत कारबाही हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।



चैत ७ गतेदेखि सुरु हुने एसएलसीमा यस वर्ष ५ लाख २८ हजार २ सय ५७ जना परीक्षार्थी छन् । उनीहरुका लागि १ हजार ७ सय ४८ परीक्षा केन्द्र तोकिएको छ । प्रत्येक केन्द्रमा २५ विद्यार्थी बराबर १ निरिक्षक र १ हजार ७ सय ४८ केन्द्राध्यक्षको व्यवस्था गरिएको पनिकाले जनाएको छ ।


यस वर्ष परीक्षा केन्द्र तोकिएको विद्यालयको माध्यमिक तहको योग्यता पुगेको प्रधानध्यापक नै केन्द्राध्यक्ष हुने व्यवस्था गरिएको छ । प्रश्नपत्र र उत्तरपुस्तिका सबै जिल्लामा पुर्‍याइसकेको पनिकाले जनाएको छ ।