जलविद्युतमा लगानीको वातावरण तयार पार्ने उद्देश्यले काठमाडौंमा जलविद्युत सम्मेलन सुरु

जलविद्युतमा लगानीको वातावरण तयार पार्ने उद्देश्यले आजदेखि राजधानी काठमाडौंमा जलविद्युत सम्मेलन सुरु भएको छ ।

 

  भारतीय दूतावासको सहयोग तथा बिपी कोइराला फाउण्डेसनको आयोजनामा भएको दुई दिने सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जलविद्युत क्षेत्रमा रहेका समस्याको दुई महिनाभित्र समाधान गर्ने बचन दिनुभयो । उहाँले लगानीका लागि सरकारले बातावरण बनाउने भन्दै निर्धक्क लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आह्वान गर्नुभयो ।

 

प्रधानमन्त्री भट्टराईले नयाँ नेपालको लागि नयाँ फर्मुला भन्दै प्रजातन्त्र प्लस जलविद्युत इक्वेल टू नयाँ नेपाल सूत्रको घोषणा गर्नुभयो ।

 

जलविद्युत नै नेपालको विकासको मूल आधार भएको र त्यसमा लगानीका लागि छुट्टै वित्तिय संस्थालाई प्रभावकारी रुपमा संचालन गरिने उहाँको भनाइ थियो । सरकारले गत साउनमा मात्रै जलविद्युत मात्र लगानी गर्न जलविद्युत लगानी तथा विकास कम्पनी स्थापना गरेको थियो ।

 

नेपालमा उत्पादित विजुली भारतमा मात्र नभई बंगलादेशमासमेत निर्यात गर्न सकिने र त्यसका लागि बंगलादेशले चासो देखाएको जानकारी प्रधानमन्त्रीले दिनुभयो । लगानीकर्तालाई आकर्षित गर्न विद्युत खरिद सम्झौतामा भाउ बढाइएको भन्दै स्थानीयलाई स्वामित्व दिनेगरी आयोजना अगाडि बढाउन प्रवद्र्धकहरुलाई आग्रह गर्नुभयो ।