कांग्रेस शेरबहादुर देउवाद्धारा नेपाल संघीयतामा जाने सम्भावना नै नभएको ठोकुवा


 

काठमाडौं – कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले नेपाल संघीयतामा जाने सम्भावना नै नभएको ठोकुवा गरेका छन । आफूलाई हिमायती ठान्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयता नचाहेको उनको दाबी छ ।

‘माओवादी अध्यक्ष प्रचण्डले नै अखण्ड चितवन टुक्रिदैन भनेपछि कसरी मुलुक संघीयतामा जान्छ,’ निजी निवास बुढानिलकण्ठमा बिहीबार रिपोर्टर्स क्लवको ज्ञापन पत्र बुझ्दै देउवाले भने, ‘माओवादीकै अन्य नेताहरुले स्याङ्जा, पाल्पा, नवलपरासी, अखण्ड सुदुर पश्चिम र अखण्ड कर्णाली लगायतका जिल्लाहरु संघीयता जानबाट अवरोध सिर्जना गरिरहेका छन् ।’

मुलुक जातीय संघीयतामा जानै नसक्ने भन्दै देउवाले संघीयताको विषयमा प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष दाहालले धारणा खुलस्त पार्नु पर्ने बताए ।

राज्यपुनर्संरचना आयोगले संघीयताको विषयमा नेपाली जनतालाई लाद्न खोजको आरोप लगाउँदै चितवनलाई टुक्र्याएर चौतारा राजधानी बनाएर कसरी त्यस क्षेत्रको विकास गर्न सक्छन भनेर प्रश्न समेत गरे ।

७५ बटै जिल्लालाई संघ बनाउनु पर्ने भन्ने आफ्नो धारणाको बचाउ गर्दै बरिष्ठ नेता देउवाले भने, ‘नेपाल भन्दा सानो मुलुक स्विट्जरल्याण्डमा ३७ वटा प्रान्त हुन सक्छ भने नेपालमा किन ७५ वटा प्रान्त हुन सक्दैन ?’

संघीयता र धर्म निरपेक्षताबाहेक अहिलेसबै कुरा २०४७ सालको संविधान अनुसार नै मुलुक चलिरहेको भन्दै संघीयता र धर्मनिरपेक्षतालाई मिलाएर ४७ सालकै संविधान जारी गर्दा पनि परक नपर्ने देउवाको तर्क थियो ।

फेरि म्याद थपिन्न

जेठ १४ मा संविधान जारी हुन नसके संविधान सभाको म्याद फेरि थप्ने अवस्था नभएको भन्दै देउवाले ताजा जनादेशमा जानु पर्ने बताए । ‘दुई वर्षमा गर्छौ भनेर आएका हामीहरुलाई फेरि अब म्याद थप गर्न लाज हुन्छ, उनले भने, ‘सर्वोच्च अदालतले नै म्याद थप्न नमानेकोले अब नयाँ चुनावमा जानुको विकल्प छैन ।’

माओवादीले सरकारबाट फिर्ता नबोलाएसम्म र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले समर्थन फिर्ता नलिएसम्म अहिलेको सरकार ढल्नै नसक्ने स्पष्ट पार्दै त्यसै सरकार ढाल्ने खेल निरर्थक हुने बताए ।

आफू पार्टी एकताको पक्षमा

नेता देउवाले आफू पार्टी एकताको पक्षमा रहेकोले पार्टी भित्रको कुरा गरेर फेरि विवाद उत्पन्न गर्न नचाहेको उल्लेख गरे । उनले भ्रातृ संगठन विघटन नगरेको भए पार्टी भित्र कुनै पनि विवाद नभएको बताए । उनले स्व. सभापति गिरिजाप्रसाद कोइरालासँग भएको सहमतिकै आधारमा पार्टी अगाडि बढ्ने विश्वास समेत ब्यक्त गर्दै पार्टी भित्रका सवै विवाद अन्त्य हुने विश्वास समेत ब्यक्त गरे ।

एक अर्को प्रसङ्गमा बरिष्ठ नेता देउवाले माओवादीकै लडाकुलेले पार्टीले भ्रष्टाचार गरेको आरोप लगाइसकेपछि अरुले माओवादीलाई भ्रष्ट भनिरहन नपर्ने तर्क गरे । – कान्तिपुर