
सरकारले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालसहितको टोलीलाई सगरमाथा चढ्नकालागि दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
सिंहदरवारमा आज बसेको मन्त्रिपरिषदको बैठकले प्रचण्डको छोरालाई उक्त रकम सरकारी ढुकुटीबाट खर्च हुने गरी उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै, कर्मचारी सरुवा बढुवा गर्नका लागि निजामति कर्मचारी नियमावलिमा संशोधन पनि गरिएको छ । आजैदेखि लागु हुने गरी गरिएको संशोधनसँगै सरकारलाई कर्मचारी सरुवा बढुवाको लागि बाटो खुलेको छ । यस पटकलाई यो व्यवस्था गरिएपनि आगामी वर्षदेखि भने साउन, भदौ र असोज महिनामा सरुवा बढुवाको काम गरिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
यसैगरी नारायणहिटीभित्र बनाइने शहीद स्मारकलाई वजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।
नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय वातावरण सम्मेलनमा सहभागी हुन आउनेहरुलाई भिसा शुल्क नलिने निर्णय पनि सरकारले गरेको छ ।