घुस मागेको प्रकरणमा वन राज्यमन्त्री लक्ष्मण महतोसँग बयान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको रारा क्षेत्रका वासिन्दासंग घुस मागेको प्रकरणमा वन राज्यमन्त्री लक्ष्मण महतोसँग बयान लिएको छ ।

 

अख्तियारले राज्यमन्त्री मेहताका पीए नागेन्द्र यादवलाई रारा राष्ट्रिय निकुञ्जले अधिग्रहण गरेको जग्गाको मुअब्जा दिलाईदिने भन्दै ५० हजार घुस लिंदालिंदै पक्राउ गरेको थियो । सो प्रकरणमा राज्यमन्त्रीको पनि संलग्नता रहेको आशंकामा अख्तियारले आज बयान लिएको हो ।

 

पीडितहरुले राज्यमन्त्री मेहताले नै घुस निर्देशन दिएको बयान दिएपछि अख्तियारले बयान लिएको हो । राज्यमन्त्री मेहतासंग अख्तियारको प्रहरी महाशाखामा विहान पौने ११ बजेदेखि पौने ५ बजेसम्म झण्डै पाँच घण्टा बयान लिईएको थियो ।

 

बयान दिएर फर्कंदै गर्दा राज्यमन्त्री मेहताले भने गाडीभित्र पनि मुख लुकाएका थिए । रारा निकुञ्जका लागि २०३३ सालमा सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा स्थानीयवासीले अझैसम्म नपाएकोमा मेहताका पीएले मुअब्जा दिलाइदिने भन्दै फागुन १८ गते ५० हजार रुपैया घुस लिएका थिए ।

 

घुस लिने यादवसंग पनि अख्तियारले बयान लिईरहेको छ । वन राज्यमन्त्री मेहताको वयानको समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरुलाई अख्तियारका कर्मचारीले भने दृष्य खिच्न रोक लगाएका थिए ।