रमेश खतिवडा,
दोलखा – माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाललाई सगरमाथा चढ्न २ करोड रुपैयाँ दिने सरकारी निर्णयको भत्सर्ना गर्दै युवा संघ दोलखा कमिटीले सडक प्रदर्शन गरेको छ। प्रदर्शनका सहभागीले २ करोड फिर्ताको माग गर्दै नाराबाजी गरेका छन्।
एमालेको जिल्ला कार्यालयबाट निस्केको जुलुसले ‘बाबुरामको बिर्ताले, २ करोड फिर्ताले !’ लगायतका नारा लगाएको छ। चरिकोटका विभिन्न भागहरुको परिक्रमा गरी जुलुस सात दोबाटो चोकमा आएर कोणसभामा सभामा परिणत भएको छ।
कोणसभालाई युवा संघका केन्द्रीय सदस्य हिरा थोकर लगायतका वक्ताले सम्बोधन गर्दैछन्। माओवादी अध्यक्षका पुत्रको उट्पट्याङ कार्यलाई २ करोड दिएको भन्दै युवासंघले हिजो राजधानीमा एक घण्टा चक्काजाम गरेको थियो।