काठमाडौ – निर्वाचन प्रणालीमा सहमति नहुँदा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अनिश्चित भएको छ । विद्यार्थी संगठनहरू चुनाव गराउन सहमत भए पनि निर्वाचन प्रणालीबारे उनीहरूबीच मतभेद छ ।
त्रिवि कार्यकारी परिषद्को विद्यार्थी संगठनसहित बिहीबार बैठक बसे पनि केही टुंगो लाग्न सकेन । चुनावकै निम्ति विद्यार्थी संगठनहरूलाई संयुक्त बैठक बोलाएको त्रिवि रेक्टर प्राध्यापक गुणनिधि न्यौपानेले बताए । ‘स्ववियु निर्वाचन गराउने अभ्यास भइरहेको छ,’ उनले भने, ‘त्रिवि निर्वाचन गराउन प्रतिबद्ध छ । यसअघि निर्वाचित स्ववियुका पदाधिकारीहरूको म्याद मात्र होइन, पढाइसमेत सकिसकेको हुँदा निर्वाचनको विकल्प छैन । अब चाँडै निर्वाचन प्रणालीसहित मिति घोषणा गर्ने पक्षमा छौं ।’
त्रिविको सिनेटबाट स्ववियु निर्वाचन नियमावली संशोधन हुन नसक्दा गत वर्ष हुनुपर्ने स्ववियु चुनाव रोकिएको थियो । त्रिविमा नयाँ पदाधिकारी नियुक्तिपछि समेत सिनेट बस्न नसकेकाले उक्त नियमावली संशोधन हुन सकेको छैन ।
अखिल (क्रान्तिकारी) ले निर्वाचन प्रणाली समानुपातिक र नेविसंघले प्रत्यक्ष हुनुपर्ने भनेका छन् । अनेरास्ववियुसमेत अरू संगठनले तत्कालका निम्ति विद्यमान प्रणाली -प्रत्यक्ष) नै हुनुपर्ने भनेको छ ।
‘प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनाव सम्भव छैन,’ क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले भने, ‘त्रिविले सबै प्रत्यक्ष र सबै समानुपातिक नभई मध्यधारबाट हुन सक्ने निर्वाचन प्रणाली ल्याउन प्रतिबद्धता जनाएको छ ।’ वैशाख पहिलो सातादेखि स्नातक तहको परीक्षा सुरु हुने भएकाले त्यसअघि नै स्ववियु चुनाव हुनुपर्ने उनले बताए । नत्र वैशाख अन्तिम र जेठ पहिलो सातामा हुनुपर्ने उनको भनाइ थियो ।
नेविसंघ पूर्वउपाध्यक्ष नैनसिंह महरले प्रत्यक्ष निर्वाचन प्रणालीमै जोड दिँदै स्ववियु चुनावकै कारण परीक्षा भने सान नहुने बताए । विद्यार्थी संगठनबीच सहमति कायम हुन नसके पुरानै विधिबाट चुनाव हुनुपर्ने अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले बताए । ‘हामीले यही ०६८ सालभित्र स्ववियु चुनाव हुनुपर्छ भनेका छौं,’ उनले भने, ‘रेक्टरले निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’ – कान्तिपुर



