बैद्य समूहले सरकार र पार्टीविरुद्द आन्दोलनका कार्यक्रम घोषणा गरेपछि माओवादी संस्थापन र भट्टराई पक्षले छुट्टै छलफल सुरु

काठमाडौ  । पार्टी बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले सरकार र पार्टीविरुद्व आन्दोलनका कार्यक्रम घोषणा गरेपछि माओवादी संस्थापन र भट्टराई पक्षले छुट्टै छलफल सुरु गरेको छ ।

 

बैद्य समूहले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम र पार्टीको आगामी रणनीतिको बारेमा छलफल गर्न संस्थापन र उपाध्यक्ष डा बाबुराम भट्टराई पक्षका नेताहरुको छलफल आज हुने भएको छ ।

 

दिउँसो प्रचण्ड निवासमा हुने बैठकमा सहभागीहुन राजधानीमा रहेका सबै केन्द्रीय नेताहरुलाई माओवादीको संस्थापन र भट्टराई पक्षले आग्रह गरेको बुझिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री डा बाबुराम भट्टराईबीच विहान बैद्य समूहको आन्दोलनको सामना कसरी गर्ने भन्ने बारेमा छलफल भएको छ । आज हुने छलफलले बैद्य समूहलाई थामथुम पार्ने प्रयास गर्ने वा आन्दोलनको सामना गर्ने भन्ने बारेमा टुङ्गो लगाउने एक नेताले जानकारी दिए ।

 

बैद्य समूहले भने आफूहरुलाई दमन गर्ने वा प्रतिकार गर्ने प्रयास भए मान्ने नहुने प्रतिक्रिया दिएको छ । पोलिटव्यूरो सदस्य हरिभक्त कंडेल प्रतीकले संस्थापन पक्षको प्रस्तुतीको आधारमानै पार्टीको विवाद व्यवस्थापन वा जटिल हुने बताउनुभयो ।

 

बैद्य समूहले आफ्नै उपाध्यक्ष डा बाबुराम भट्टराई नेतृत्वको सरकारको विरुद्वमा जेठ १४ सम्ममा सक्नेगरी आन्दोलनका कार्यक्रम हिजो सार्वजनिक गरेको थियो ।