अब काठमाडौंका सडकमा बिजुली, टेलिफोन र विभिन्न केबलका तार जमिनमुनिबाट गर्ने तयारी


 

काठमाडौ – काठमाडौं महानगरका मुख्य तथा सहायक सडक अव्यवस्थित र गन्जागोल तारको मारबाट मुक्त हुने भएको छ । सडकमै पोल गाडेर बिजुली, टेलिफोन र विभिन्न केबलका तार असरल्ल हुँदा सहर नै फोहोर देखिएको थियो ।

महानगरपालिकाले सडक विस्तार भएको स्थानका बिजुली, टेलिफोन, केबल च्यालनका तारको व्यवस्थापन जमिनमुनिबाट गर्ने तयारी थालेको छ । त्यसका लागि सरोकारवालासित छलफल सुरु गरेको महानगरले जनाएको छ । खुला रूपमा राखिने तारका कारण सहर बिरूप भएको भन्दै भूमिगत रूपमा तार व्यवस्थापन गर्न लागिएको हो ।

महानगरका अधिकृत हरि कुँवरले सहरलाई व्यवस्थित र सुन्दर बनाउन भूमिगत रूपमा तार बिछ्याउने तयारी भइरहेको बताए । त्यसबारे सञ्चार मन्त्रालय, विद्युत प्राधिकरण, टेलिभिजन च्यानल, ऊर्जा मन्त्रालयका प्रतिनिधिसँग छलफल गरएको कुँवरले जानकारी दिए । त्यस क्रममा पहिलो चरणमा मुख्य सडकको तारलाई व्यवस्थित बनाइनेछ । माइतीघर मण्डलादेखि तीनकुनेसम्म पहिलो चरणमा काम सक्ने कुँवरले बताए । दोस्रो चरणमा महानगरका गल्लीको पोलमा राखिएका विद्युत, फोन र टेलिभिजनका तारलाई व्यवस्थित बनाउने उनले बताए ।

सडक विस्तार गरिएपछि माइतीघर, नयाँ बानेश्वर, बौद्ध जोरपाटी, चाबहिल, लैनचौर, बालुवाटार, महाराजगन्ज, बिजुलीबजार, मीनभवनलगायतका क्षेत्रमा बिजुली, टेलिफोनका तार चुँडिएका छन् । त्यसैगरी ज्ञानेश्वर, रातोपुल, मैतीदेवी, भाटभटेनी, पुरानो बानेश्वर, कालिकास्थान लगायतका क्षेत्र पनि बिजुली लगायतका तार अस्तव्यस्त छन् । अधिकृत कुँवरका अनुसार सडक विस्तारका क्रममा मात्र नभएर बिजुलीका पोलमा जथाभावी रूपमा विभिन्न टेलिभिजन च्यानल, फोनका तारले सहरको सौन्दर्य बिगारेको छ । पहिलेदेखि नै बिजुलीका पोलमा होडिङ बोर्ड, विभिन्न टेलिभिजन च्यानल र फोनका तारले गर्दा सहर कुरूप हुँदै आएको भन्दै त्यसलाई बिस्तारै कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे तयारी भएको उनले बताए ।

ढल र पानीका पाइपलाई पनि व्यवस्थित गर्ने तयारी पनि महानगरले गरेको छ । सूचना मन्त्रालयका उपसचिव अनुप नेपालले मेट्रो सिटीमा भूमिगत रूपमा केबल व्यवस्थापन गर्नुपर्ने बताए । सहरको सुन्दरता र भूकम्पीय जोखिमका हिसाबले पनि भूमिगत लाइन बिछ्याउनुपर्ने उनको भनाइ थियो । तीन चार वर्षको योजना बनाएर पनि भूमिगत तार बिछ्याउनुपर्ने उनले बताए ।

महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले त्यसबारे प्रतिवेदन तयार गरेर उच्चस्तरमा छलफल गरिने बताए । ‘चाँडो होस् ढिलो जसरी पनि सहरको सुन्दरतालाई जोगाउन केबल, विद्युत, टेलिफोनलगायतका तारलाई व्यवस्थित गर्नैपर्छ,’ उनले भने । दिनप्रतिदिन सहर कुरूप बन्दै गएको भन्दै उनले महानगरले तारलाई व्यवस्थित बनाउन प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

‘विस्तारित सडकमा भूमिगत तार राखेको बिस्तारै अन्यमा पनि राख्न सकिन्छ, त्यसपछि त्यति कठिनाइ हुँदैन,’ उनले भने, छलफल अगाडि बढाउँछौं ।’ उपत्यकामा मात्र पाँच सयभन्दा बढी टीभी च्यानलका केवलका तार विद्युत र नेेपाल टेलिकमका पोलबाट वितरण हुँदै आएका छन् । – कान्तिपुर