जलवायु परिवर्तनका सम्बन्धमा हिमाली मुलुकहरूको अन्तर्राष्ट्रिय सम्मेलन यही चैत २३ र २४ मा काठमाडौंमा हुने

काठमाडौ – जलवायु परिवर्तनका सम्बन्धमा हिमाली मुलुकहरूको अन्तर्राष्ट्रिय सम्मेलन यही चैत २३ र २४ मा काठमाडौंमा हुने भएको छ । ५५ मुलुकको सहभागिता रहने उक्त सम्मेलनमा वातावरणसम्बन्धी २५ वटा अन्तर्राष्ट्रिय संस्था तथा ठूलो संख्यामा वातावरण विशेषज्ञहरूले पनि भाग लिनेछन् ।

 

सम्मेलनको पूर्वसन्ध्यामा चैत २२ गते उच्चस्तरीय विशेषज्ञहरूको अन्तर्राष्ट्रिय परामर्श बैठक पनि बस्नेछ ।

 

वातावरणमन्त्री हेमराज तातेडले मन्त्रिपरिषद् बैठकले उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा आउने सहभागीको प्रवेशाज्ञा शुल्क मिनाहा गर्ने निर्णय गरेको बताए । ‘यो राष्ट्रिय गौरवको सम्मेलन हो,’ सम्मेलनमा प्रस्तुत हुने राष्ट्रिय प्रतिवेदन तयारी सम्बन्धमा नेपाल वातावरण पत्रकार समूहद्वारा आयोजित कार्यशालामा मन्त्री तातेडले भने, ‘राष्ट्रिय प्रतिवेदनले जलवायु परिवर्तन र वातावरणीय मुद्दामा अन्तर्राष्ट्रियतहमा नेपालका चुनौती र आवश्यकतालाई बढवा दिन मद्दत गर्ने छ ।’

प्रा.गाविन्द नेपाल, डा. दिनेशचन्द्र देवकोटा तथा डा. तारानाथ भट्टराईद्वारा संयुक्त रूपमा लिखित राष्ट्रिय प्रतिवेदनको मस्यौदामाथि विभिन्न दातृ निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विज्ञहरूले सुझाव दिएका थिए । मस्यौदामा नेपालको समग्र सामाजिक, आर्थिक तथा वातावरणीय स्थितिका साथै जलवायु परिवर्तन तथा त्यसका समग्र प्रभावबारे उल्लेख छ । हिमाली मुलुकका सरोकारलाई सम्बोधन गर्न क्षेत्रीय तथा विश्वव्यापी सहयोगबारेको मुद्दालाई मुख्य रूपमा उठाइएको छ ।

त्यसका लागि विश्वव्यापी साझा संयन्त्र बनाउनुपर्ने नेपालको प्रतिवेदनमा उल्लेख छ ।

नेपालको नेतृत्वमा हुन लागेको यो सम्मेलनले अन्तर्राष्ट्रिय ध्यान केन्दि्रत गर्नुका साथै हिमाली जनताको आवश्यकता तथा सरोकारलाई सम्बोधन गर्ने वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले बताए ।

वातावरण सहसचिव तथा जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख वटुकृष्ण उप्रेतीले विश्वव्यापी पहलका लागि सम्मेलनले ‘काठमाडौं आह्वान’ जारी गर्ने बताए । – कान्तिपुर