काठमाडौ । अमर्यादित र विवादास्पद काम कारवाही गर्ने एक मन्त्री र दुई राज्यमन्त्रीसँग प्रधानमन्त्री डा बाबुराम भट्टराईले स्पष्टिकरण मागेका छन् ।
प्रधानमन्त्रीले आज श्रम तथा यातायात मन्त्री सरिता गिरी, स्वास्थ्य राज्यमन्त्री सरोज यादव तथा भूमिसुधार राज्यमन्त्री ज्वाला साहसँग स्पष्टिकरण मागेका हुन ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाएर उनको ठाँउमा आफू निकटकोलाई विना कुनै जानकारी नियूक्त गरेको सम्बन्धमा श्रम तथा यातायात मन्त्री गिरीसँग स्पष्टिकरण सोधिएको हो ।
त्यसैगरी भूमिसुधार तथा ब्यवस्थामन्त्री भीमप्रसाद गौतमले सरुवा प्रकरणमा आर्थिक लेनदेन गरेको भनि सार्वजनिक रुपमा अभिब्यक्ति दिएको भन्दै भूमिसुधार राज्यमन्त्री शाहसंग र आइतबार साँझ मादक पदार्थ सेवन गरी वीर अस्पताल पुगेर अमर्यादित व्यवहार देखाएका स्वास्थ्य राज्य मन्त्री यादवसंग त्यस विषयमा स्पष्टिकरण सोधिएको हो ।
प्रधानमन्त्री स्रोतले अमार्यादित क्रियाकलाप गरेको भनि लागेको आरोपमा प्रधानमन्त्री कार्यालयले छानविन गरिरहेको र दोषि देखिए कारवाही गरिने जनाएको छ ।