काठमाडौमा सवारी दुर्घटनामा परेर फागुन मसान्तभित्र १३ जनाले ज्यान गुमाए

काठमाडौ – सवारी दुर्घटनामा परेर फागुन मसान्तभित्र उपत्यकामा १३ जनाले ज्यान गुमाएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता योगेश्वर रोमखामीले फागुन महिनाभित्र भएका ३ सय ६३ वटा दुर्घटनामा परेर १३ जनाले ज्यान गुमाएको, २० जना गम्भीर घाइते भएको र २ सय ३८ जना सामान्य घाइते भएको जानकारी दिए ।

फागुन महिनामा भएका ती दुर्घटनाको प्रकृति हेर्दा चालकको लापरबाहीका कारण ३ सय १८, तीव्र गतिका कारण १०, मादकपदार्थ सेवनबाट १०, यान्त्रिक गडबडीका कारण ९ र अन्य कारणबाट १६ वटा दुर्घटना भएका छन् ।

राजधानीमा भएका ती दुर्घटनामध्ये सबैभन्दा बढी कार्यालय समयमै भएको पाइएको छ भने बेलुकी र बिहानको समयमा कम दुर्घटना भएका छन् ।

जसमध्ये दिउँसो १२ देखि बेलुकी ६ बजेभित्र १ सय ४६, बेलुकी ६ बजेदेखि दिउँसो १२ बजेसम्म १०९ र बिहान ६ देखि दिउँसो १२ बजेसम्म १०८ वटा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले गत मङ्सिर १७ गतेदेखि सुरु गरेको मादकपदार्थ सेवन (मापसे) विरुद्धको अभियानका क्रममा चैत ५ गतेसम्म १४ हजार २ सय ९६ जना कारबाहीमा परेका छन् ।

प्रवक्ता रोमखामीले उपत्यकामा हुने सवारी दुर्घटनालाई न्यून गर्नका लागि थालिएको मापसेविरुद्धको अभियानको कारबाहीबाट अहिलेसम्म १ करोड, १८ लाख, १२ हजार राजस्वसमेत सङ्कलन भएको बताए ।

ट्राफिकले सञ्चालन गरेको मापसेविरुद्धको अभियानपछि उपत्यकामा हुने सवारी दुर्घटनामा कमी आएको र अत्यधिक मात्रामा हुँदै आएको सवारी नियम उल्लङ्घनका घटनासमेत कम भएको जनाइएको छ । रासस